सुदूरपश्चिमका नयाँ सङ्क्रमित सबै बैतडीका

बैतडी । सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । सङ्क्रमितमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् ।

बाँकी नौ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । शनिवार थप चार जनामा पुष्टि भएको हो भने शुक्रवार पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

शनिवार पुष्टि भएका सुदूरपश्चिमका सबै बैतडीका रहेका छन् । त्यसमा पनि सबै एउटै शिवनाथ गाउँपालिकाका रहेका जिल्ला अस्पतालले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका सबै चार जना जेठ ८ गते भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै फर्किएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

शिवनाथ गाउँपालिकाका २० वर्षीय दुई, २२ वर्षीय एक र २७ वर्षीय युवकमा शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि शुक्रवार सङ्क्रमण पुष्टि भएका बैतडीका युवकको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

ती युवक कर्तव्य ज्यान मुद्दामा गएको वैशाख १५ देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए ।

यसअघि सुदूरपश्चिममा शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमारहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ सङ्क्रमित भेटिएका थिएनन् ।

सङ्क्रमित सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन

बैतडीका कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि धनगढी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रहरी हिरासतमै रहेका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ प्रहरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारी, जिल्ला अदालतमा कार्यरत १२ कर्मचारी र जिल्ला अस्पतालका एक चिकित्सकको स्वाब सङ्कलन गरिएको उनले बताए।

यस्तै सङ्क्रमित युवक शिवनाथका भएकाले ती युवकको सम्पर्कमा आएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उनका आफन्त गरेर २२ जनाको स्वाब सङ्कलनका लागि भिटीएम पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। उनीहरुको स्वाब सङ्कलन गरेर भोलि धनगढी पठाइने छ ।

थुनामा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब सङ्कलन गरिएको हो भने बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीको पनि स्वाब सङ्कलन गरिएको हो ।

गाउँमा त्रास बढ्यो

बैतडीको एकै पालिकाका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयवासीमा कोरोनाको त्रास बढेको छ ।

भारतबाट फर्केकाहरुमा सङ्क्रमण पुष्टि भएकाले स्थानीयस्तरमा त्रास बढेको हो । अहिलेसम्म जिल्लाका पाँच जनामा कोरोना देखिएको र ती सबै शिवनाथ गाउँपालिकाका हुन् ।

शुक्रवार सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवक शिवनाथ गाउँपालिका–२ का हुन भने उनको स्वाब सङ्कलन गरेर बैतडीबाट धनगढी पठाएपछि कोरोना पुष्टि भएको हो । उनी अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा छन् ।

यस्तै शनिवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका चार पनि बैतडीको शिवनाथ गाउँपालिकाकै हुन् ।

उनीहरु यसैसाता कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका हुन् । उनीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

शनिवार पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ । सङ्क्रमित युवकहरु बैतडी नआए पनि उनीहरुसँगै रहेका धेरै युवक बैतडी भित्रिएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए।

शनिवारसम्म ४७५ जना शिवनाथका मात्रै भित्रिएका छन् । उनीहरु सङ्क्रमितसँगै भारतको मुम्बई, नासिकलगायतका ठाउँबाट बैतडी भित्रिएको बुझिएको छ ।

गौरीफान्टा नाकाबाट बैतडीका धेरै नागरिक बिनापरीक्षण जिल्ला भित्रिएका छन् भने शुक्रवार झुलाघाट नाकाबाट पनि बैतडीका १६२ बिनापरीक्षण जिल्ला भित्रिएका छन् ।

भारतबाट फर्केका नागरिकको परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?