२०७७, ११ जेष्ठ आईतवार ०३:०३

के हो ॐ को अर्थ ?


प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतवार ०३:०३

काठमाडौं । सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले प्रत्येक दिन जप्ने पनि गरेका छौँ ।

घरमा पूजा गर्दा होस् वा कुनै शुभ कार्य गर्दा होस् वा मन्दिरमा पुजारी व्राह्मणहरूले पूजा गर्दा ॐ भनेपछि मात्रै अन्य काम शुरु गर्छन् । तर के तपाईलाई यसको वास्तविक अर्थ थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

संस्कृत शब्द ॐ तीन अक्षरबाट बनेको छ , त्यो हो अ उ म १ यसको अर्थ हिन्दू धर्मको ‘माण्डूक्य उपनीषद’मा उल्लेख गरिएको छ ।

केवल १२ मन्त्र भएको सबैभन्दा छोटो उपनीषद्को रचना ई.पू. ८०० सालमा ऋषिहरूले गरेको मानिन्छ ।

‘अ’ अर्थात आदि, जसले व्रह्मलाई बुझाउँदछ ।

‘उ’ अर्थात उन्नती, जसले विष्णुलाई चिनाउँदछ ।

‘म’ अर्थात मृत्यु, जसले महेश्वरलाई बुझाउँदछ ।

यस उपनीषदमा ॐ शब्दलाई सबै मन्त्र तथा वेदको आधारभूत इकाई मानिएको छ , जसले स्वयं परमव्रह्मा (सिंगो र केवल एक) र सारा व्रह्माण्डलाई जनाउँदछ ।

विश्व एवम् भूत,वर्तमान र भविष्य काल तथा यिनीहरूभन्दा पर जो नित्य तत्व सर्वत्र व्याप्त छ , त्यो नै ॐ हो । यो सबै व्रह्म हो र यो आत्मा पनि व्रह्म हो ।

ॐ ले आत्माको अभिव्यक्तिको चार अवस्थालाई जनाउँदछ , जसलाई ‘चतुष्पाद’ भनिन्छ (जाग्रत, स्वप्न, सुषुप्ति र तुरीय) ।

१. ‘जाग्रत‘ अवस्थाको आत्मालाई ‘वैश्वानर’ भनिन्छ । यसलाई बिउँझिएको अवस्था भन्न सकिन्छ , जहाँ केवल वाह्य संसारको अनुभूती गर्न सकिन्छ ।

२. ‘स्वप्न’ अवस्थाको आत्मालाई ‘तेजस’ भनिन्छ । यसलाई तन्द्रा अवस्था पनि भन्न सकिन्छ , जहाँ सपना अर्थात भौतिक संसारभन्दा भिन्नै दुनियाँको अनुभूती गर्न सकिन्छ ,जहाँ मन प्रफुल्ल रहन्छ र शरीरभित्रै भोग गर्न थाल्छ ।

३. ‘सुषुप्ति’ अवस्थाको आत्मालाई ‘प्रज्ञ’ भनिन्छ । यसलाई प्रगाढ निन्द्राको रूपमा लिन सकिन्छ, जहाँ आनन्दमय ज्ञानको स्वरूप प्राप्त गर्न सकिन्छ , जहाँ इच्छा लोप हुन्छ र सर्वेश्वर,सर्वज्ञ तथा अन्तर्यामी ज्ञानको अनुभूती हुन्छ ।

४. तथापी, उपर्युक्त तीन अवस्थाहरूभन्दा पर रहेको आत्माको चतुर्थ पाद अर्थात ‘तुरीय’ अवस्था नै उसको सच्चा र अन्तिम स्वरूप हो, जसमा ऊ न जाग्रत हुन्छ , न स्वप्न हुन्छ , न त सुषुप्ति नै । त्यहाँ केवल शान्त अनि परमज्ञान हुन्छ र त्यसैलाई ॐ भनिन्छ ।

ज्यो. दुर्गा भण्डारी ।

प्रतिक्रिया दिनुहोस