सेरेना विलियम्सलाई पछि पार्दै नाओमी ओसाका सर्वाधिक कमाई गर्ने महिला

काठमाडौं । जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी छिन् । अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पछि पार्दै ओसाका विश्वमै सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी हुन् ।

फोब्स पत्रिकाका अनुसार २२ बर्षकी दुई पटककी ग्रान्डस्लाम उपाधि विजेता ओसाकाले पुरस्कार र विभिन्न प्रायोजनबाट ३० दशमलव ७ मिलियन पाउण्ड रकम आम्दानी गरेकी छिन् ।

पछिल्लो १२ महिनामा ओसाकाले ३८ बर्षकी सेरेना भन्दा १ दशमलव १५ मिलियन पाउण्ड रकम बढी आम्दानी गरेकी छिन् । दुवै खेलाडीले रुसी खेलाडी मारिया सारापोभाले सन् २०१५ मा आर्जन गरेको २४ दशमलव ४ मिलियन पाउण्डको कीर्तिमानी रकम तोडेका छन् ।

फोब्सले सन् १९९० देखि महिला खेलाडीको बार्षिक आम्दानी सार्वजनीक गर्दै आएको छ । प्रत्येक बर्ष सार्वजनीक गरिने सुचिमा टेनिस खेलाडी शीर्ष स्थानमा पर्दै आएका छन् । हैटीमा जन्मिएका बुवा र जापानी आमाबाट जन्मिएकी ओसाका सन् २०२० को सर्वाधिक कमाई गर्ने शीर्ष सय खेलाडीको सुचिमा २९ औं नम्बरमा छिन् । उनी सेरेना विलियम्स भन्दा चार स्थान अगाडी छिन् ।

दुवै खेलाडी सन् २०१८ को युएस ओपनमा प्रतिस्पर्धा गरेका थिए । सेरेनालाई सो खेलमा हराउँदै ओसाकाले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिईन् । उनले सन् २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिईन् । पछिल्लो समय ओसाको फर्म खस्किएको छ । उनी डब्लुटीएले सार्वजनीक गर्ने वरियता अनुसार शीर्ष स्थानबाट तल झर्दै १० औं स्थानमा आएकी छिन् ।

यसअघि पछिल्ला चार बर्ष विलियम्स सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी थिईन् । त्यसअघि सारापोभाले लगातार ५ बर्ष शीर्ष स्थानमा कब्जा जमाएकी थिईन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?