कतार सरकारद्वारा एनआरएनएलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग

लन्डन । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यन्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यन्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा नेपाली श्रमिकलाई वितरण भइरहेको बताए ।

गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको हो ।

कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले हिजो विहीवार प्रकाशित गरेको सूचना अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ४५ जनामा जाँच गर्दा थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको संघको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले जनाएका छन् । ६ सय ८८ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको मुक्तदाले बताए ।

यसअघि संघका बिभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए । कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?