थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा मकवानपुर (हेटौडा-३)की ५४ वर्षीया महिला तथा भक्तपुर (भक्तपुर-९) की ४२ वर्षीया महिला रहेकी छिन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमण पुष्टि हुनेमा सप्तरी (वलान बिहुल गाउँपालिका) का ३५ वर्षीय पुरुष रहेका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराका ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा बारा (सिमरनगढ नगरपालिका) का २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । हालसम्म ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । संक्रमितहरु सबैको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?