‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टाइनमा छु’

जीतपुर । कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ जनामा कोरोनाको सङ्क्रमण देखिए पनि लामो समयसम्म पालिकास्तरबाट सङ्क्रमितका विषयमा चासो नभएपछि पीडित सञ्चारकर्मी सञ्चारगृहको क्वारेन्टिनमा बस्न बाध्य भएका छन् ।

दुई सञ्चारकर्मीमध्ये एक बाणगङ्गा नगरपालिका वडा नम्बर–११ भडिहवाका २४ वर्षीय पुरुष कपिलवस्तु सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो÷टेलिभिजन ‘बुद्ध आवाज’का प्राविधिक हुन् भने अर्का २९ वर्षीय पुरुष कपिलवस्तु नगरपालिका– ३ स्थित ‘कपिलवस्तु दर्पण’का प्रबन्धक तथा ‘उज्यालो पोष्ट‘का सञ्चालक हुन् । अन्य सातमा बाणगङ्गाका पाँच, मायादेवी गाउँपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक सङ्क्रमित छन् ।

उनन्तीस वर्षीय सञ्चारकर्मीले कोरोना पुष्टि भएको करीब सात घण्टा भए पनि पालिकाबाट कुनै सम्पर्क र सोधपुछ नभएको गुनासो गर्दै पटकपटक घर परिवारको कन्ट्याक्ट ट्रेसिङ हुनुपर्छ भनेर माग गर्दा पनि सुनुवाइ नहुँदा स्थानीय सरकार यतिबेला लाचार भएको अनुभूति भएको बताए । उनले भने, ‘अब कसको मुख हेरेर बसौँ त, आफैँ क्वारेन्टिनमा बसिरहेको छु । जिल्लाका सञ्चारकर्मीमा कोरोना पुष्टि हुँदा ६ घण्टा पहिले थाहा पाएको स्थानीय सरकारले सङ्क्रमितको अवस्था नखोज्दा आम नागरिक कसरी सुरक्षित होलान् ?’

टेलिभिजनका प्राविधिकको पनि उस्तै गुनासो रहेको छ । उनलाई कोरोना पुष्टि भएको करिब ६ घण्टा हुँदा पनि कुनै सोधपुछ भएको छैन । टेलिभिजनमा कार्यरत एक पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि उनको नजीकमा रहेर समाचार शाखा र प्राविधिक शाखामा काम गर्ने पत्रकारका लागि सञ्चारगृहको सभाकक्षमा क्वारेण्टाइन बनाइएको व्यवस्थापक भेषराज पाण्डेले बताए । मुलुकले महामारीको पीडा खेपिरहेका बेला सञ्चारकर्मीमा सङ्क्रमण देखिए पनि जनतालाई सुसूचित गर्ने काममा खटिएका पत्रकारले क्वारेन्टिनमा बसेर भए पनि जनतालाई सुसूचित गर्ने काम नरोक्ने जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जिल्लाका १० पालिकामा नै क्वारेन्टाइनमा भए पनि सबै अवस्थित भएको बताउँदै सञ्चारकर्मीलाई पालिकाहरुले समन्वय गरेर विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले छिटोभन्दा छिटो संक्रमित पत्रकारको सम्पर्कमा रहेका आठ पत्रकारको पिसिआर परीक्षण गर्न माग पनि गरे ।

बाणगङ्गा नगरपालिकाका प्रवक्ता तथा २ का वडाध्यक्ष विष्णु पौडेलले प्रदेशबाट आइसोलेशनको व्यवस्था हुन्छ भनेर कुर्दा केही ढिला भएको उल्लेख गर्दै पत्रकारका लागि आइसोलेशन निर्माणको प्रक्रिया शुरु भएको बताए । सञ्चारगृृहको क्वारेन्टिनमा समाचार शाखामा काम गर्ने पाँच र प्राविधिकतर्फ तीनसहित आठ जना छन् । कोरोना पोजेटिभ देखिएका सञ्चारकर्मी बुद्ध आवाजको भवनमा अलग्गै कोठामा रहेको र अहिलेसम्म कहाँ कसरी उपचारका लागि पठाइने भन्ने टुंगो लागेको छैन । यसरी प्राविधिकसँग सम्पर्कमा आएका अन्य आठ कर्मचारीले भने आफैँ क्वारेन्टान निर्माण गरेर समाचार सम्प्रेषण गर्ने तयारी थालेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?