भारतबाट फर्किएकालाई राख्न क्वारेन्टाइन थप्दै स्थानीय तह

काठमाडौं । कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्यूठानका नौवटै स्थानीय तहले क्वारेन्टाइनको सङ्ख्या बढाउन थालेका छन् ।

भारतका विभिन्न स्थानबाट घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि उनीहरुको व्यवस्थापनका लागि जिल्लामा क्वारेन्टाइनको सङ्ख्या बढाउन थालेको हो । प्युठान नगरपालिकाले नगरका २२ स्थानमा कूल २५० श्ययाको क्वारेन्टिन निर्माण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए । बाहिरी देशबाट आउने व्यक्ति थपिन थालेपछि आवश्यकताका आधारमा विभिन्न टोल, विद्यालय, सावर्जनिक भवनमा क्वारेन्टाइनको सङ्ख्या पनि बढाउँदै लैजाने योजना रहेको उनले बताए ।

जिल्लाको स्वर्गद्वारी नगरपालिकामा पनि ३०० श्यया क्षमताको क्वारेन्टाइन निर्माण गरेको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए । नगरको निर्णयानुसार प्रत्येक वडाको माध्यामिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्ने केसीले बताए । भारतबाट हालसम्म ११ व्यक्ति आएको र अन्य १५-२० जना सम्रपर्क आएको हुनाले उनीहरुलाई यातायातको व्यवस्थापन गरेर सिमानाबाट नगर क्षेत्रमा ल्याइ क्वारेन्टाइनमा राखिने स्वास्थ्य शाखा प्रमुख केसीको भनाइ छ ।

माण्डवी गाउँपालिकाले पनि भारतबाट आउने व्यक्तिको सङ्ख्या बढ्दै जान थालेपछि क्वारेन्टाइनको सङ्ख्या पनि बढाउँदै गएको प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए । गाउँपालिकाले अहिले १५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिसकेको छ । आवश्यकताका आधारमा पाँचवटै वडामा ५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिने उनले जानकारी दिए । यहाँका दुई हजार २०० बढी व्यक्ति भारतमा रहेको र एक हजार बढीले वडाध्यक्षमार्फत आफ्नो घर पर्कनका लागि सम्पर्कमा आएको उनको भनाइ छ । आवश्यकता परेमा पुनःक्वारेन्टाइनको सङ्ख्या पनि थपिने उनले बताए ।

सरुमारानी गाउँपालिकाले पनि हालसम्म १४० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरिसकेको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए । हालसम्म ३६ जना भारतबाट आएको उनको भनाइ छ । पालिका क्षेत्रका व्यक्ति दुई हजार ५०० देश बाहिर रहेको र करिब ३०० आउनका लागि सम्र्पकमा आएको रायमाझीको भनाइ छ । त्यस्तै ऐरावती गाउँपालिकाले पनि भारतबाट आउने व्यक्ति थपिदै जान थालेपछि हालसम्म २०० श्यया क्षमताको विभिन्न विद्यालयमा क्वारेन्टिन निर्माण गरेको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले जानकारी दिए । हालसम्ममा ८३ जना आइसकेको उनको भनाइ छ ।

यस्तै मल्लरानी गाउँपालिकाले पनि बाहिरबाट आउने व्यक्ति थपिदै जान थालेपछि क्वारेन्टाइनको सङ्ख्या पनि बढाउँदै गएको स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए । सात स्थानमा ७५ श्यया क्षमताको क्वारेन्टिन निर्माण गरेको उनको भनाइ छ । आवश्यकताअनुसार थप गर्दै लैजाने शाहीले बताए । झिमरुक गाउँपालिकाले पनि हालसम्म १२ स्थानमा १५० श्यया क्षमताको क्वारेन्टिन निर्माण गरेको जनाएको छ । गौमुखी गाउँपालिकामा सात स्थानमा १४५ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ भने नौबहिनी गाउँपालिकामा छ स्थानमा ९८ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?