सिमकोट । उत्तरी नाम्खा गाउँपालिकाबाट मंगलवार संकलन गरी हेलिकप्टरमार्फत जुम्ला पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
गाउँपालिकामा आरडिटी पोजेटिभ देखिएको एक जना व्यक्तिको रिपोर्ट पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ ।
आरडिटी पोजेटिभ आउँदा पिसिआर परीक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त स्वाबको आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
प्रतिष्ठानका निर्देशक डा. मंगल रावलका अनुसार हुम्लामा आरडिटी गर्दा नाम्खा ५ का एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि हुम्लामा निकै त्रास बढेको देखिएकाले स्थानीय प्रशासनले सार्वजनिक गरेको थिएन ।
प्रतिष्ठानमा ती व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरमा नेगेटिभ आएपछि हुम्लामा त्रासको बातावरण हटेको छ ।
प्रतिष्ठानले पोजेटिभ देखिएको रिपोर्टसहित नाम्खाबाट लिइएका स्वाबलाई प्राथमिकता दिएर परीक्षण गरेको डा. रावलले बताए ।
जिल्लाबाट प्रतिष्ठान पठाइएका ३३ र सुर्खेत पठाइएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको नाम्खा स्वास्थ्य संयोजक नर भण्डारीले जानकारी दिए ।
मंगलबार मात्रै ३३ जनाको प्रतिष्ठान र २१ जनाको केही दिन अगाडि सुर्खेत पठाइएकामा सबै नेगेटिभ आएको छ ।
हुम्लाबाट नाम्खासहित सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाबाट ४११ जनाको स्वाब लिइएको छ ।
अन्यको पिसिआर विधिमा परीक्षण भइरहेको र बिहीबारसम्म सबैको रिपोर्ट आउने भएको छ । प्रतिष्ठानले हुम्लाका पाँच गाउँपालिकामध्ये चंखेलीबाट ९९, सर्केगार्डबाट ८०, नाम्खाबाट ३३, अदानुचलीबाट एक सय र ताँजाकोटबाट ९९ जनाको स्वाब लिएको थियो ।
संकलित स्वाब छिटो प्रतिष्ठानमा लैजान अन्य माध्यम नभएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टरको व्यवस्था गरिएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया