काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ ।
अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताए।
मङ्गलवार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उहाँलाई सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा पहिलोपटक कोरोना सङ्क्रमण प्रमाणित भएको हो ।
नगर स्वास्थ्य समितिको आजै बैठक बसी सङ्क्रमितको परिवारका सदस्यलाई पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए।
सङ्क्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ । नगरपालिकामा सङ्क्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ । कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन् ।
नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया