उपत्यकाका प्रहरीमा कोरोना पुष्टि भएपछि डिआईजीपि पोखरेल भन्छन्, ‘संक्रमितको उपचार हुन्छ, बाँकी फिल्डमा खटिन्छौँ’

काठमाडौं – काठमाडौंको कालिमाटीमा कार्यरत एक जना सई र एकजना सिपाहिमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डिआईजीपी विश्वराज पोखरेलले संक्रमण पुष्टि भएका प्रहरीको उपचार गरीने र उनीहरुको सम्पर्कमा रहेका सबैको परीक्षण थालिएको बताएका छन् ।

उनले महानगरिय प्रहरी वृत्त कालिमाटी, महानगरिय ट्राफिक प्रहरी प्रभाग कालिमाटी र महिला सेल सील गरिसकिएको जानकारी दिँदै त्यहाँ कार्यरत २ सय बढी प्रहरी क्वारेन्टाईनमा राखिएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एक सई र जवानमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका सबैको पिसिआर जाँचको तयारी थालिएको छ ।

डिआईजीपी पोखरेलले भने, “कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना संक्रमण पुष्टि भएपछि ड्युटीमा रोकेर ब्यारेकमा बस्ने, मेसमा खाने सबै प्रहरीको पिसीआर जाँच गरिनेछ । कोरोना देखिए उनीहरुको उपचार हुन्छ । परीक्षणमा पोजेटिभ देखिएकाहरुको उपचार हुन्छ । नदेखिए फेरी उच्च मनोबलका साथ फिल्डमा खटिन्छौँ । अहिले संक्रमितको सम्पर्कमा रहेकाहरुको जाँच गर्ने तयारी भएको छ ।”

यसअघि बारा र कपिलवस्तुमा पुष्टि भएका नेपाल प्रहरीका ३ जना, बुधबार थपिएका २ जना गरी कोरोना पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।

अहिलेसम्म नेपाली सेना र सशस्त्र प्रहरी गरी १२ जना सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?