कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा

दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ ।

कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेसनमा ल्याइएको छ ।

सुर्खेत लैजाने वा दैलेखको आइसोलेसनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो ।

सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेसनमा राख्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोली मङ्गलवार दैलेखबाट आठबीस नगरपालिका हिँडेको थियो ।

स्वास्थ्य कार्यालय दैलेखले शनिबार ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो । कोरोना सङ्क्रमणको आशङ्का गरिएका युवा ३५ दिनभन्दा धेरै समय भारतको बनवासामा बसेर दैलेख आएका थिए ।

उनीहरुलाई बनवासा नाकाबाट आठबीस नगरपालिकाले उद्धार गरी चैत ३१ गते दैलेखको आठबीस नगरपालिकाको सात्तला विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएका खोप तथा सूचना अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।

सङ्क्रमण भएको जानकारी पाएलगत्तै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।

अहिले सात्तलामा रहेको क्वारेन्टिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रिने नागरिकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

सङ्क्रमित युवासँग ४९ युवा आएका थिए

कोरोना सङ्क्रमित युवा भारतको आग्रा भन्ने ठाउँमा आलु स्टोरमा काम गर्ने गरेको खुलेको छ । आग्राबाट ४९ सदस्यीय टोली गत चैत १८ गते कञ्चनपुर गड्डाचौकी नाकामा आइपुगेको थियो । उनीहरु त्यहाँ करिब ४५ दिन क्वारेन्टिनमा बसेका थिए ।

जेठ १ गते गड्डाचौकी नाकाबाट आठबीस नगरपालिकाका ३९, ठाँटीकाँधका आठ, दुल्लूका एक र चामुण्डाका एकसहित ४९ जनाको टोलीसँगै नेपाल आएका थिए ।

सबैलाई आफ्ना पालिकाको क्वारेन्टिनमा राखिएको भए पनि ठाँटीकाँध गाउँपालिकाले चार दिनसम्म क्वारेन्टिनमा राखेर पिसीआर जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको थियो ।

सत्तलाका युवामा सङ्क्रमण देखिनेबित्तिकै पुनःक्वारेन्टाइनमा राखिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए।

आठबीस नगरपालिकाका स्थानीयवासीले वडा नं १ लाई तत्काल ‘सिल’ गरी आवश्यक कदम चाल्न सुझाव दिएका छन् ।

क्वारेन्टिनमा रहेका व्यक्तिले पालना गर्नुपर्ने नियम गर्न नसकेको, राति समूहमा देउडा खेल्ने, दिउँसो विभिन्न खेल खेल्ने गरेको देखिएकाले यसबारे थप सचेतना अपनाउन सबैलाई आग्रह गरेको स्थानीय वीरबहादुर नेपालीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको बताए।

कर्णाली प्रदेश अस्पतालमा लैजाने विषयमा पनि छलफल भएको थियो । बिरामीको अवस्थाका आधारमा मात्र सिफारिस गर्ने कुरा भएपछि अहिले दैलेखको आइसोलेसनमा राखेर उपचार गरिने छ ।

बिरामीको स्वास्थ्य अवस्था निरन्तर जाँच गरिनेछ । स्वास्थ्य अवस्थाको आधारमा थप उपचारको तय गरिने डा. पन्तको भनाइ छ ।

सबैखाले सुरक्षा परिचालन गरिएको छ : प्रजिअ

जिल्लाभरको सबैखाले सुरक्षा परिचालन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।

क्वारेन्टाइन व्यवस्थित गर्नेबारेमा जिल्ला प्रशासनले सक्रियता बढाएको छ ।

जिल्लाका विभिन्न नयाँ स्थानमा थप क्वारेन्टाइन बनाउनुपर्ने आवश्यकता महशुस भएकाले त्यसतर्फ सुरक्षा निकायलाई खटाइएको छ । नयाँ स्थानको पहिचान गरिएको छ ।

सङ्क्रमितको सुरक्षा व्यवस्थापनको विषयमा टे«सिङ गर्ने काम शुरु भइसकेको छ । आइसोलेसनको सुविधा, जनशक्ति, भेन्टिलेटरजस्ता विषयमा पनि उच्च सतर्कतासँगै चासो बढाइएको कट्टेलले जानकारी दिए ।

अवस्था जटिल बन्न थालेको खण्डमा प्रदेश सरकारले समेत आवश्यक तयारी थाल्नका लागि अनुरोध गरेर पठाइएको छ ।

जिल्लास्तरका राजनीतिक दलका प्रमुखसँग छलफल भएर आउन सक्ने खतराबाट बच्नका लागि खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले जानकारी दिए ।

दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले आम नागरिकले घरभित्रै बसेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

सङ्क्रमण दैलेखमा देखिएका कारण सबैले आ-आफ्नो क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने ओलीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?