जनप्रतिनिधिद्वारा एक महिनाको सुविधा कोरोना कोषमा दिने घोषणा

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । जेठ ५ गते सोमबार गाउँपालिकाका अध्यक्ष टासि लामाको अध्यक्षतामा बसेको ८१ औं गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष टासि लामा र उपाध्यक्ष सुनिता अधिकारी सहित ८ वटै वडाका वडाध्यक्ष तथा सदस्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाइएको छ । जनप्रतिनिधि हरुको सेवा सुविधा स्वतःस्फूर्त रुपमा पालिकाले स्थापना गरेको सो कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष लामाले बताए ।

कोषमा जम्मा हुने रकम कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकताका आधारमा खर्च गरिने गाउँपालिकाले जनाएको छ । साथै बैठक बाट आर्थिक बर्ष ०७७/०७८ को निति तथा कार्यक्रम –प्रि बजेट तयारी समेत भएको छ । साथै वडा गत तथा विषय गत योजना छनोट तर्जुमा कार्यक्रम सम्पन्न गर्न सम्पूर्ण वडा अध्यक्ष तथा सदस्यहरुमा निर्देशन दिइएको छ ।

गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा रकम जम्मा गरिएको गाउँपालिकाका प्रवत्ता एवम् वडा नम्बर २ का वडा अध्यक्ष पासाङ लामा तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?