बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाका तीन वडामा बन्दबन्दी थप कडाइ गरिने भएको छ । बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएसँगै आसपासका तीन वडामा लकडाउनलाई थप कडाइ गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए।
नगरपालिकाका वडा नं १०, ११ र १२ मा संक्रमणको जोखिमलाई ध्यानमा राखेर बन्दाबन्दीलाई प्रभावकारी बनाइने बताइएको छ ।
सर्लाही, रामनगर स्थायी घर भई हाल तेञ्जिङ चोक बसोबास गदैँ आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर बन्द गरिएको छ । नगरपलिकाका तीन वडाका खुला स्थानमा तरकारी बजार तथा गाडामा तरकारी बिक्रीवितरण पूर्ण रुपमा बन्द गरिएको छ ।
यसैगरी अत्यावश्यक काम नभई विनाकाममा घर बाहिर निस्केको तथा हिँडडुल गरेको थाहा भएमा कानूनबमोजिम बन्दाबन्दी उल्लंघन गरेको ठहर गरी रु पाँच सय जरिवानासहित कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
नगरपालिकाले तोकिएको बाहेकका व्यवसाय तोकिएको समयबाहेक सञ्चालन गरेमा कानूनबमोजिम कारवाही तथा रु एक हजार जरिवानासमेत गरिने नगरपालिकाले जनाएको छ ।
साथै सो क्षेत्रका मासु पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने सवारी साधनले मानिस ओसारपसार गरेको पाइएमा कारवाही गरिने प्रवक्ता भट्टराईले भने । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया