काठमाडौं – नेपालको रामेछाप जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालको रामेछाप जिल्लामा पहिलोपटक संक्रमण पुष्टि भएको हो ।
नेपालमा आज २७ जना संक्रमित थपिएका मध्ये एक जना रामेछापका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमित १७ देखि ४२ वर्ष उमेर समुहका रहेका छन् ।
जसमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।
हिजो एकैदिन ८० जनामा संक्रमण देखिएको थियो । परीक्षणको दायरा बढाउँदा नेपालमा तिव्र रुपमा संक्रमित थपिएका छन् ।
हिजो सोमबार पटक पटक गरी थपिएका संक्रमित थप ४ जिल्लाका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हिजोमात्रै सुनसरी, खोटाङ, दैलेख र गुल्मी जिल्लामा संक्रमण देखिएको थियो । आज थप ललितपुर लमजुङ, सिन्धुली, रामेछाप जिल्लामा संक्रमण थपिएको छ । परीक्षणको दायरा बढाएसँगै नेपालमा कोरोना संक्रमित धमाधम थपिइरहेका छन् ।
आज मंगलबार भेटिएका संक्रमितहरु कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपरासीका १, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा यस महामारीबाट बच्न सावधानीस्वरुप लकडाउन नीति लिईएको आज ५७ औँ दिन पुगेको छ भने आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याइएको छ ।
नेपालमा सातै प्रदेशमा यो महामारी फैलिसकेको छ ।
हालसम्म ३४० पुरुष र ६२ जना महिला संक्रमित रहेका छन् । आजसम्मको विवरण हेर्दा नेपालमा २० देखि ५० वर्ष उमेर समुह धेरै प्रभावित बनेको छ ।
सरकारले विभिन्न सूचनामार्फत् उच्च सावधानी अपनाउन र सचेत बन्न सबैसँग आग्रह गरेको छ । photo: agency
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया