कपिलवस्तुका ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । मंगलवार नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने ४ जना कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

लकडाउनकै बीच उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएका थिए । र गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए ।

नेपालमा सोमवार मात्र ८० जनामा कोरोना संक्रमण देखिएको थियो ।

सोमवार बिहान ९ जना, दिउँसो ५३ जना र बेलुका १८ गरि नेपालमा एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमवार थपिएका संक्रमितहरु धनुषा निवासी २ पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँके नरैनापुर निवासी १२ पुरुष, दैलेख आठबिस १ निवासी १ पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमवार बिहान कोरोना संक्रमण पुष्टि हुनेमा रौतहट इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । भने बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोमवार दिउँसो थप ५३ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको विवरण अनुसार बाँकेका ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको भेरी अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

त्यस्तै सोमवार दिउँसो विराटनगरका १ पुरुष (मोरङको प्रयोगशालामा परीक्षण), गुल्मीका ४१ वर्षीय १ पुरुष (भैरहवाको प्रयोगशालामा परीक्षण) मा कोरोना संक्रमण देखिएको हो । भने धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ गरी ६ जना पुरुषमा काभ्रेको धुलिखेल अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज २७ जना संक्रमित थपिएका मध्ये एक जना रामेछापका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमित १७ देखि ४२ वर्ष उमेर समुहका रहेका छन् ।

जसमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।

आज मंगलबार भेटिएका संक्रमितहरु कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपरासीका १, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा यस महामारीबाट बच्न सावधानीस्वरुप लकडाउन नीति लिईएको आज ५७ औँ दिन पुगेको छ भने आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याइएको छ ।

नेपालमा सातै प्रदेशमा यो महामारी फैलिसकेको छ ।

हालसम्म ३४० पुरुष र ६२ जना महिला संक्रमित रहेका छन् । आजसम्मको विवरण हेर्दा नेपालमा २० देखि ५० वर्ष उमेर समुह धेरै प्रभावित बनेको छ ।

हालसम्म २ जनाको कोरोनाको कारण ज्यान गएको छ । ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?