प्रजातन्त्र सेनानी ढुङ्गेलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी रुद्रप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी सोमवार बिहान काठमाडौंको कुलेश्वरमा निधन भएका काँग्रेस रामेछापका पूर्वमहासमिति सदस्य ८२ वर्षीय ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

“प्रजातन्त्र सेनानी एवं रामेछापका नेता ढुङ्गेलको निधनले मलाई अत्यन्त दुःखित् बनाएको छ, स्व ढुङ्गेलले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, देउवाले विज्ञप्तिमा भनेका छन् ।

रामेछापको खाडादेवी गाउँपालिकामा जन्मिएका ढुङ्गेल मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

स्व ढुङ्गेल काँग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वकेन्द्रीय सदस्यसमेत थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ढुङ्गेलको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।

वि.स. २०१७ मा प्रजातन्त्र अपदस्त गरिएपछि विस २०१८ को सङ्घर्षका क्रममा तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गर्दै प्रजातन्त्र बहालीका लागि रामेछापको बडाहाकिम कार्यालयमा भएको बम प्रहारको घटनामा स्व ढुङ्गेल सङ्लग्न भएका थिए ।

स्व. ढुङ्गेलले पटक–पटक गरी करिव आठ वर्ष जेल र सात वर्ष भारत प्रवासमा जीवन बिताएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?