लोपोन्मुख तामे सालक मृतावस्थामा

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० को मिरकोटमा मृतावस्थामा सालक भेटिएको छ ।

स्थानीय देउराली सामुदायिक वनमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।

स्थानीयवासीले मृत सालकको खपटा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई जानकारी गराएपछि सालक मृतावस्थामा भेटिएको बारे वन कार्यालयमा जानकारी आएको उनले बताए।

“मृतावस्थामा फेला परेको तामे सालक विश्व संरक्षणको लोपोन्मुख जनावरको सूचीमा पर्छ”, उहाँले भने, “घटनास्थलमा उपलब्ध भएको करिव १५० ग्राम खपटा सङ्कलन गरी वन कार्यालयमा प्रतिवेदन आएको छ ।”

सालक कालगतिले मरेको उनले बताए । “फेला परेको सालक पूरै सडेको र खपटामात्र बाँकी रहेको अवस्था थियो”, उनले भने ।

विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने पौड्यालको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?