काठमाडौं । पर्सा जिल्लामा मंगलबार (भोली)बाट निषेधाज्ञा हटाइने भएको छ । कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै गत वैशाख ३० गतेबाट निषेधाज्ञा लागू गरिएको थियो ।
सोमवार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
निषेधाज्ञा हटाइएपनि लकडाउनलाई भने पूर्ण रुपमा कार्यान्वयन गरिने समितिले निर्णय गरेको छ ।
निषेधाज्ञा हटाइएपनि यसरी लकडाउन प्रभावकारी बनाइने:
(क) एम्बुलेन्स, खानेपानी, विद्युत, टेलिफोन मर्मत सम्भारको लागि प्रयोग हुने सवारी साधन, स्वास्थ्यकर्मी बोक्ने सम्बन्धित अस्पतालका यात्रुवाहक सवारी साधन, फोहरमैला व्यवस्थापनमा खटिने जनशक्ति बोक्ने सवारी साधन, औषधी, दुध, पानी पेट्रोलिय पदार्थ ढुवानीका सवारी साधन तथा भन्सारबाट विभिन्न जिल्लाका लागि छुटेका अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधन तथा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक कार्यको लागि सवारी अनुमति पत्र प्राप्त गरेका सवारी साधनहरुबाहेक अन्य सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउने ।
(ख) अत्यावश्यक वस्तुहरु (जस्तो खाद्यन्न, किराना, दुध, ग्याँस, पानी आदि) को बिक्री वितरण गर्ने पसलहरु मात्र विहान जतिसक्दो सबेरैदेखि बिहान ८ः३० बजेसम्म मात्र खोल्न दिने । औषधी पसल भने जुनसुकै समयमा पनि खोल्न दिने ।
(ग) साँगुरा गल्ली, ठेलागाडा, चोकहरुमा बिक्री वितरण गर्न नदिने ।
(घ) अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने, व्यवसायी र ग्राहक सबैलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने । यसो भएको नपाइए सम्वन्धित व्यवसायीलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने ।
(ङ) मुख्य बजार क्षेत्रमा भने बिहान ६ बजेदेखि साँझ ७ः३० बजेसम्म खाद्य, किराना पसलहरुसमेत खोल्न नदिने ।
(च) पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा विहान ६ बजेदेखि साँझ ७स्३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन बाहेकका अन्य सवारी साधन समेत संचालमा रोक लगाउने ।
(छ) कृषि कार्यसँग सम्वन्धित सामाग्री, पशुपंक्षीजन्य आहारा, सबै प्रकारका खाद्य वस्तु तथा निर्माण सामाग्री ढुवानीका साधनहरु बीरगंज महानगरपालिका क्षेत्रभित्र बेलुकी ६ः०० बजेदेखि बिहान ६स्०० बजेभित्र मात्र संचालन गर्न दिने ।
(ज) भारतबाट आउने तरकारीलाई पर्सा जिल्लाको लागि प्रवेश निषेध गर्ने तर स्थानीय तरकारीलाई भने होम डेलिभरी गर्न दिने ।
(झ) भिडभाड नहुने तथा कामदार, कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्नेदेखि तोकिएका सबै स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड र शर्त पालना गर्ने औषधी, खाद्यान्न जस्ता अत्यावश्यक उद्योगहरु संचालन गर्न दिने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया