प्रदेश ५ को सभामुखमा घर्तीको एकल उम्मेदवारी

बुटवल, १ फागुन – प्रदेश नं ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेको छ । प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे एमाले र माओवादीका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता गर्नुभएको हो उम्मेदवारी दर्ताको समय आज बिहान १० देखि दिउँसो ५ बजेसम्म कायम गरिएको थियो । उम्मेदवारी दर्ताको समयसम्म घर्तीको मात्र एकल उम्मेदवारी परेकाले ५ बजेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेपछि सभामुखमा उहाँ निर्विरोध हुने निश्चित भएको छ बुधबार अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुखको निर्वाचनको कार्यसूचीउपर छलफल हुने संघीय संसद्का उपसचिव तथा प्रदेशसभा बैठकका सहजकर्ता सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । प्रदेशसभा बैठकले सभामुखमा उहाँको उम्मेदवारीलाई अनुमोदन गरेपछि उहाँ निर्वाचित भएको घोषणा हुनेछ बुधबारको बैठकअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने समेत अर्यालले जानकारी दिनुभयो । कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुखको निर्वाचनबाहेक आवश्यकताअनुसार भोलिको बैठकको कार्यसूची तय गर्न सक्नेछ माओवादी केन्द्रका प्रदेश ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उहाँले आज उम्मेदवारी गर्नुभएको हो । रुकुम पूर्व प्रदेश सभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीयवासी हुनुहुन्छ । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराका रुपमा विसं २०२४ असार २९ गते उहाँको जन्म भएको हो विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लाग्नुभएका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । पछिल्लोपटक उहाँ नेकपा माओवादी केन्द्र ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएको थियो साहित्य र जनवादी गीत–संगीतमा दख्खल राख्नुहुने घर्तीले विसं २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषतः राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?