‘जनताको हर्षको आँशु नीति तथा कार्यक्रममा देख्न सकिन्छ’

काठमाडौं । सङ्घीय सरकारले शुक्रवार प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनताको राष्ट्रिय आवश्यकता र जनताको आवश्यक सान्दर्भिकताको विषय समेटेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले त्यसको स्वागत गरेका छन् ।

प्रतिपक्षी दलका सांसदले भने कोभिड–१९ को महामारीबाट राष्ट्र र जनतालाई बचाउने प्रभावकारी कार्य तथा आर्थिक सुधार र रोजगारी अभिवृद्धि गर्ने कार्यक्रम आउन नसकेको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुबै सदनको संयुक्त बैठकमा गत शुक्रवार प्रश्तुत गरेको आव २०७७/०७८ को नीति तथा कार्यक्रम कोभिडको महामारीबाट मुलुकलाई मुक्त गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ केन्द्रित रहेकोले सत्तारुढ दलका सांसदहरुले त्यसको समर्थन गरे ।

राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सहभागी सांसदले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्नेमा पनि सुझाए ।

नेकपाका सांसद खिमलाल भट्टराईले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमले अहिलेको राष्ट्रिय आवश्यकता र जनताको आवश्यकतालाई सम्बोधन गरेको बताए। सर्वोपरी हित प्रवर्द्धनका विषयलाई समेटिएकाले जनताको हर्षका आँशु नीति तथा कार्यक्रममा देख्न सकिने उनको भनाइ छ ।

प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रममा सपना बाँडेको भनी गरेको टिप्पणीको कटाक्ष गर्दै सांसद भट्टराईले भने, “प्रतिपक्षीले भनेजस्तै सपना हो । किनकी यो सपना राष्ट्र र जनताको आवश्यकता पनि हो ।

हामीलाई कहिलेकाहीँ लाग्थ्यो लोडसेडिङमुक्त होला भनेर अहिले त्यो सपना पूरा भएको छ ।

हिजो सडकमा नागरिक बेवारिसे अवस्थामा हुन्थे आज सडक मानवमुक्त भएको छ । यो पनि एउटा सपना थियो । त्यो पनि पूरा भएको छ ।”

उनले देश तुइनमुक्त र खुला दिशामुक्त भएको, काठमाडौँका सडक चिल्ला र खाल्डाखुल्डीरहित भएको उदाहरण दिँदै उहाँले सपना देखाउनेसँग प्रतिवद्धता भए पूरा हुन्छन् भन्ने उदाहरण नीति तथा कार्यक्रमले समेटेको बताए ।

कृषि, पर्यटन र ऊर्जाकालगायत उद्योगको विकास गरी राष्ट्रको क्षमता अभिवृद्धि गर्न नीति तथा कार्यक्रमले समेटेको, भूमिहीन, गरिब सुकुम्बासी जनतलाई जमिन उपलब्ध गराउने विषय सम्बोधन भएको, वर्तमान कोभिडको सङ्कटमुक्त बनाउन र स्वास्थ्य क्षेत्रको बृहत्तर सुधारमा गरिएको सङ्कल्प र योजनालाई विशेष जोड दिइएको उनको दाबी छ ।

फरक प्रसङ्गमा उनले भारतीय सेना प्रमुखको अभिव्यक्ति नेपाली जनताको अपमान गर्नेखालको रहेको उल्लेख गर्दै आपत्तिजनक भनाइको भर्तसना गरे।

नेकपाकै जगप्रसाद शर्माले कोभिडको महामारी नियन्त्रणका लागि सरकारले नीति तथा कार्यक्रममा सान्दर्भिक विषय समेटेको भन्दै यसलाई कार्यान्वयन गर्न परीक्षणको दायरा बढाउने र रोगबारे सचेतना फैलाउने कार्यक्रमसँगै लैजान जरुरी भएको बताए।

कृषिप्रधान देश नेपाललाई कृषिमा केन्द्रित योजना कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको उल्लेख गर्दै उनले समग्रमा सरकारको योजना राष्ट्रिय आवश्यकता र जनचाहनालाई समेटेको भन्दै खुशी व्यक्त गरे ।

उनले सीमा अतिक्रमण राष्ट्रको लामो समयदेखिको विषय भएकाले दीर्घकालीन समाधानका लागि नीति तथा कार्यक्रमले भाव बोकेको बताए ।

नेकपाका सांसद रामनारायण विडारीले ‘नीति तथा कार्यक्रम लामो भएर के भो त’ भनी प्रश्न गर्दै धेरै विषय कार्यान्वयन गर्ने सरकारको प्रतिवद्धता र अठोटलाई प्रतिपक्षी दलले आलोचना गर्नुको औचित्य नभएको प्रष्ट पारे ।

उनले नीति तथा कार्यक्रममा आएका राम्रा योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा लैजान काँग्रेसलगायत प्रतिपक्षी दलले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कोभिडको महामारी नियन्त्रणका लागि नीति तथा कार्यक्रमले विशेष प्राथमिकता दिनु सकारात्मक विषय भएको उल्लेख गर्दै उनले रोजगारी अभिवृद्धिका साथै कृषि उत्पादन प्रवर्द्धन पनि सरकारको प्राथमिकतामा परेकामा खुशी व्यक्त गरे ।

सोही पार्टीका दिलकुमारी रावलले राष्ट्रियताका विषयमा नीति तथा कार्यक्रम ऐतिहासिक रहेकाले अतिक्रमित भूमि फिर्ता गराउन एकताबद्ध भएर अघि बढ्न प्रतिपक्षी दलहरुलाई आग्रह गरिन्।

सरकारको कार्यक्रमले धेरै क्षेत्रमा प्राथमिकता र प्रतिबद्धता आएकामा समर्थन गर्दै उनले यसको व्यावहारिक कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले कोभिडको महामारीबाट सिर्जित समस्या तीन तहकै सरकारबीच समन्वय गरेर समाधान गर्नेगरी नीति तथा कार्यक्रम आएको बताए।

नेकपाका इन्दिरादेवी गौतमले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए। उनले मन्त्री, नेता तथा सांसदले राहत बाँड्ने होइन भन्दै यो काम स्थानीय तहलाई दिएर बजेट तथा स्रोत साधन जुटाइदिनुपर्ने बताए।

नेकपाकै जीवन बुढाले नीति तथा कार्यक्रमले नागरिकको जीउधनको रक्षा गर्नु र रोगबाट मुक्तभएपछि अर्थतन्त्रलाई जोगाउनेजस्ता कार्यक्रम समेटेकाले यो स्वागतयोग्य रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा आम नागरिकले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तारादेवी भट्टले कोभिडको महामारी नियन्त्रण गर्न सरकार र प्रतिपक्षीदलसहित सिङ्गो देश एकताबद्ध भएर लागेको भए पनि सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमले कोभिडबारे विशेष कार्यक्रम ल्याउन नसकेको बताइन्।

उनले कोभिडबाट आक्रान्त बनेको अर्थतन्त्र सुधार गर्ने आर्थिक प्याकेज नीति तथा कार्यक्रममा ठोसरुपमा ल्याउन नसकेको टिप्पणी गर्दै आगामी बजेट शहरकेन्द्रित नभई गाउँकेन्द्रित हुनुपर्ने बताइन् । विकास कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिइन् ।

बैठकमा नेकपाका सांसद खिमकुमार विश्वकर्माले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र ऊर्जाको विकासमा बजेट केन्द्रित हुनुपर्ने बताउँदै आत्मनिर्भर अर्थतन्त्रको विकास, उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने विविध पक्षलाई नीति तथा कार्यक्रमले जोड दिएको उल्लेख गरे।

सोही पार्टीका अगमप्रसाद बान्तवा राईले सीमा अतिक्रमणको विषय कालापानी र लिम्पियाधुरा मात्र नभई देशको पूर्वी क्षेत्रका इलाम, पाँचथरलगायत जिल्लाको सिमानामा भारतीय पक्षले बारम्बार अतिक्रमणको प्रयास गरिरहेको भन्दै यसको दीर्घकालिन समाधान खोजिनुपर्नेमा जोड दिए।

नेकपाका सांसदहरु रामचन्द्र राई, महेशकुमार महरा, गोपाल भट्टराई र गङगाकुमारी बेलबासेले नीति तथा कार्यक्रम उपयुक्त र समयसान्दर्भिक भएको भन्दै यसको समर्थन जनाए ।

नेकपाका रामलखन चमारले राष्ट्रियतालाई बलियो बनाउँदै अर्थतन्त्रको सवलीकरणमा केन्द्रित नीति तथा कार्यक्रम समग्र नेपालीका अनुहारमा खुशी ल्याउने खालको भएको बताए।

सोही पार्टीका नैनकला ओझा, शारदादेवी भट्ट र उदयाशर्मा पौडेलले नीति तथा कार्यक्रमले अहिलेको अवश्यकतालाई समेटेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। आव २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतवारदेखि प्रारम्भ भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?