१८.३१ अर्बको पुनर्कर्जा उपयोग, निक्षेप संकलन र कर्जा विस्तार दुबैको वृद्धिदर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ९ महिना अर्थात तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चैतसम्ममा वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुबैको वृद्धिदर घटेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा लगानी ११.५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा निक्षेप १०.६ प्रतिशत र कर्जा १६.५ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.९ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

चालु आवको नौ महिनामा कुल आन्तरिक कर्जाको वृद्धिदर ८.९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा उक्त कर्जा १३.२ प्रतिशतले बढेकोमा हाल संकुचन आएको हो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा यस्तो कर्जा १६.८ प्रतिशतले बढेको छ ।

चैतसम्म १८ अर्ब ३१ करोडको पुनरकर्जा उपयोग

राष्ट्र बैंकले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७६ चैत मसान्तमा १८ अर्ब ३१ करोड लगानीमा रहेको छ ।

यस अन्तर्गत साधारण पुनरकर्जा १५ अर्ब २१ करोड र निर्यात पुनरकर्जा ७४ करोड ४४ लाख उपयोग भएको छ ।

भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ चैत मसान्तमा १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । यस्तो कर्जा १ हजार ५९२ ऋणीले उपयोग गरेका छन् ।

२०७६ चैत मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २३ हजार ४०९ ऋणीको ५० अर्ब ४७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ५ हजार २५० ऋणीको ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

महङ्गी बढ्यो, मुद्रास्फीति ६.७४ प्रतिशत

यसैगरि केन्द्रीय बैंकको प्रतिवेदन अनुसार २०७६ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत पुगेको छ। गत वर्षको चैत महिनासम्ममा मुद्रास्फीतिदर ४.४४ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा २.३० प्रतिशत बिन्दुले महङ्गी बढेको हो।

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

उपत्यकामा सबैभन्दा धेरै महङ्गी, तराईमा उच्च दरमा बढ्यो

केन्द्रीय बैंकको प्रतिवेदन अनुसार तराई, पहाड र हिमालभन्दा उपत्यकामा महङ्गी बढेको छ।

चालु आवको ९ महिनामा काठमाडौं उपत्यकामा ७।१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७५ चैतमा उपत्यकामा ४।७४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ४.८० प्रतिशत र हिमालमा ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

समीक्षा अवधिमा तराईमा सबैभन्दा धेरै अर्थात ३.०९ प्रतिशतले मुद्रास्फीति बढेको छ भने उपत्यकामा २.४५ प्रतिशत, पहाडमा १.०४ प्रतिशतले बढेको छ । उता हिमालमा भने २०७५ चैतको तुलनामा २०७६ चैतमा १. ३७ प्रतिशत बिन्दुले मुद्रास्फीति घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?