बेलहियाबाट एक हजार नेपाली घर फिर्ता

काठमाडौं । रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपाली रोजगारदाता कम्पनी बन्द भएपछि धमाधम घर फर्किएका छन् । कम्पनीले बेतलबी बिदा दिएपछि घर जान हिँडेकाहरु केही दिनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बनाइएका क्वारेन्टिनमा बसेका थिए । एक हप्तादेखि उनीहरु स्वदेश फिर्ता हुने क्रम बढेको हो । अहिलेसम्म रुपन्देहीको बेलहिया नाकाबाट एक हजार २०९ जना स्वदेश फिर्ता भइसकेका छन् ।

दिनभर सीमा क्षेत्रमा स्वदेश फर्कनेको लर्को लागेकोे बेलहियाका रामबहादुर बस्नेतले बताए । आज स्वदेश फिर्ता भएका १६५ नेपालीलाई देवदहस्थित क्वारेन्टिनमा पठाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । सीमा क्षेत्रमा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी प्रवासी नेपालीलाइ लिन पुगेका थिए ।

यसैबीच नेपालका विभिन्न क्वारेन्टिनमा बसेका १३२ भारतीय घर फर्केका छन् । स्वास्थ्य जाँच गरी रिपोर्ट नेगेटिभ आएको हुनाले तिनलाई आफ्नो देश पठाइएको हो । शुक्रबार मात्रै भारतबाट २३९ जना प्रवासी स्वदेश फिर्ता भएका थिए । शुक्रबार आएकामध्ये २१३ जना कञ्चन गाउँपालिका र २६ जनालाई सिद्धार्थनगर नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । बेलहिया नाकाबाट यसअघि पहिलो चरणमा ३१०, दोस्रो चरणमा ४९५, तेस्रो चरणमा २३९ र चौथो चरणमा १६५ जना प्रवासी घर फर्केका छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?