हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

सुर्खेत, १ फागुन- कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ । लामो तथा छोटो दूरीका गाडी ठप्प छन् भने हवाई यातायात पनि बन्द भएको छ हिजो विहान २ बजेदेखि हिमपात शुरु भएको र आज शिवरात्रि परेकाले सरकारी तथा गैरसरकारी निकायद्वारा प्रवाह गरिने सेवाबाट सेवाग्राहीलाई मर्का नपर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए प्रजिअ पौडेलका अनुसार सदरमुकाम जुम्ला खलंगामा आधा फिट हिउँ परेको छ । हिमपातले बेँसीमा भन्दा उच्च भेकका बासिन्दाको जनजीवन बढी कष्टकर भएको उनको भनाइ छ । उनले आज परेको हिन्दूहरुको पर्व शिवरात्रि भने जुम्लामा हिमपातमय हुने जनाए । यता हावापानी फिल्ड कार्यालय, जुम्लाले आज बिहानको तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेड रहेको जनाएको छ लामो समयदेखि हिउँ नपर्दा भोकमरी हुने कुराले चिन्तित किसानलाई भने यो पटकको हिमपातले राहत पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए उनका अनुसार यो हिउँले नयाँ स्याउ रोप्न र हिउँपोखरी निर्माण गर्न किसानलाई सहयोग पुग्नेछ । सिँचाइ कम भएको जग्गा र स्याउका लागि आवश्यक न्यूनतम तापक्रम पुगेको छ हिमपात भएपछि अब सहकाल लाग्ने स्थानीय वीरबहादुर सिंहले बताए । हाम्रा पालामा पर्ने जतिको हिउँ अहिले परेको देखिँदैन, विस्तारै खडेरी बढ्न थालेको छ, खोलानाला सुक्दै गएका छन्, उनले भने । उनका अनुसार हिउँ पर्नुलाई कष्टकर जीवन मान्नेभन्दा भोकमारी, रोगब्याधि हटाउने सहकाल मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?