भारतबाट आएकाहरुबाट कोरोना संक्रमण बढ्यो स्वास्थ्य मन्त्रालयले भन्यो लकडाउनको पूर्ण पालना अचुक उपाय

काठमाडौं । कोरोना भाइरस समुदायस्तरमा फैलिनबाट रोक्न सरकारले सबैलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

समुदायस्तरमा कोरोना फैलिए अवस्था भयावह हुने भन्दै सरकारले लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेको हो । नेपालमा १५ देखि ४५ वर्ष उमेरसमूहका व्यक्ति बढी संक्रमित रहेको र समुदायस्तरमा प्रवेश गरे जेष्ठ नागरिकमा संक्रमण फैलिने सम्भावना बढी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताए ।

विश्वका अन्य मुलुकमा जेष्ठ नागरिकमा संक्रमण बढी भएकाले मृत्युदरपनि बढी रहेको उल्लेख गर्दै उनले नेपालमा पनि जेष्ठ नागरिकमा संक्रमण फैलिए त्यही अवस्था हुने बताए । जेष्ठ नागरिकहरुमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले समुदायस्तरमा कोरोना फैलिए नेपालमा पनि संक्रमितको मृत्यु हुने सम्भावना बढी हुने तर्फ उनले सचेत गराए ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा प्रवक्ता देवकोटाले अहिले नेपालमा कोरोनाको भाइरस जटिल खालको (थोरै लक्षण जसले अरुमा सार्ने सम्भावना कम हुन्छ र मृत्युको सम्भावना पनि कम हुन्छ) नभएको पनि बताए ।

बैशाख महिनायता संक्रमणको ग्राफ बढ्दै गएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले आउँदा दिनमा अझै संक्रमित बढ्ने बताए । भारतबाट आएकाहरुबाट कोरोना संक्रमण बढेको उनले बताए । विशेषगरी भारतको उत्तरप्रदेश, उत्तराखण्ड मुम्बै र दिल्लीबाट नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।

भारत लगायत विभिन्न ६ मुलुकबाट मात्रै नागरिकहरु नेपाल प्रवेश गरेको उनले बताए । बेलायत, फ्रान्स, बेल्जियम, चीन र युएइबाट नागरिकहरु नेपाल प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?