काठमाडौं । राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् ।
सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताइन् । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उनले बताइन् । ‘‘कुन दिन हाम्रो आगनमा किला गाडेर यो भारतको हो र तँ भारतको नागरिक हो भन्ने अवस्था नआउनला भन्न सकिन्न् । त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धाण गरेर काँडेतार र पर्खाल लगउनुपर्छ । सरकार यसका लागि तयार हुन्छ भने म आफ्नो एक वर्षको तलब सुविधा दिन तयार छु’’, उनले भनिन् ।
सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफुलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताइन् । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन उनले माग गरिन् । सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको प्रति घोर आपत्ति जनाइन् । सीमा क्षेत्रमा काँडेतार लगाउन यहि आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरिन् ।
सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दरपनि बढेको उल्लेख गर्दै उनले सरकारले उचित प्रवन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताइन् । संक्रमण देखिएको समुदायमा सिल गर्नुपर्ने र त्यहाँ आवश्यक स्वास्थ खाद्यान्नका कुराहरुको प्रवन्ध मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिन उनले सरकारसँग आग्रह गरिन् । सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उचित व्यवस्थापन गर्ने सहमति भएपनि भारततर्फ विना कुनै सूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । खाडीमा रहेका नेपालीहरुको उद्धार गरी स्वदेश फर्काउन पनि उनले आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया