काठमाडौं – नेपालमा हालसम्म १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक आज मंगलबार थपिएका ५७ संक्रमित सहित हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारीअनुसार मंगलवार थपिएका कोरोना संक्रमितहरुमध्ये पर्सामा ३९ जना, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
मन्त्रालयका अनुसार आज थपिएका सबै संक्रमित पुरुष हुन् । तिमध्ये दुईजना पत्रकार रहेको बुझिएको छ ।
यसअघि कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियामा १ जनामा हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो बिहान मात्रै कपिलवस्तुमा १० र सर्लाहीमा १ जनामा गरी १३ जना संक्रमित थपिएका थिए ।
मन्त्रालयका अनुसार नेपालका कुल १ सय ९१ संक्रमितमध्ये ३३ जना महिला रहेका छन् । भने १ सय ५८ जना पुरुष रहेका छन् ।
हिजो सोमबार पहिलोपटक बर्दियामा ११ वर्षिय महिलामा कोरोना पुष्टि भएको थियो । कपिलवस्तुमा संक्रमित बढेसँगै हिजो नै पुरै जिल्ला सिल गरिएको छ । कोरोनाबाट बच्न सावधानीस्वरुप लकडाउनको नीति लिईएको आज मंगलबार ४९ औँ दिन पुगेको छ । तर लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्नेहरुमा कोरोना पुष्टि हुन थालेपछि नेपालमा थप भय सिर्जना भएको छ ।
प्रवक्ता देवकोटाले भने – हालसम्म नेपालमा ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
ति बाहेक १ सय ५८ जना देशका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । वीरगंजको अस्पतालमा २७ जना, राजविराजमा १ जना, विराटनगरमा १९ जना, रुपन्देहीमा २८ जना, भरतपुरमा १ जना, नेपालगन्जमा २४ जना, बर्दीयामा १ जना उपचाररत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनले भने, “आज थपिएका नयाँ संक्रमितलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको छ ।”
हालसम्म नेपालमा पिसीआर विधीबाट १८ हजार ९ सय ६४ वटा परीक्षण भएको छ । आरडीटि विधीबाट ५९ हजार ६ सय २७ वटा परीक्षण भएको छ ।
गत २४ घण्टामा मात्रै २ हजार २ सय ३६ वटा परीक्षण भएको छ । आरडीटि विधीबाट प्रदेश नम्बर १ मा ८ हजार ६३ वटा जाँच गरीएको छ भने प्रदेश २ मा ५ हजार ९ सय ३५ वटा, वाग्मती प्रदेशमा ९ हजार ३ सय १६ वटा, गण्डकी प्रदेशमा ६ हजार ५ सय १४ वटा, प्रदेश ५ मा ७ हजार २ सय २१ वटा, कर्णाली प्रदेशमा ७ हजार १ सय ६३ वटा, सुदूरपश्चिम प्रदेशमा १५ हजार ४ सय १५ वटा गरी कुल ५९ हजार ६ सय २७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म १२ हजार ७ सय ८५ जना क्वारेन्टाईनमा बसेका छन् । जसमध्ये प्रदेश १ मा ९ सय ७४ जना, प्रदेश २ मा १ हजार ५ सय ३४ जना, वाग्मती प्रदेशमा ९० जना, गण्डकी प्रदेशमा २९२ जना, प्रदेश ५ मा ५ हजार ४४२ जना कर्णाली प्रदेशमा १ हजार ६ सय ९९ जना सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ५४ जना क्वारेन्टाईनमा छन् ।
यस्तै हालसम्म २ सय २८ जना आईसोलेसनमा रहेका छन् । जसमध्ये काठमाडौंमा १ जना छन् । प्रदेश १ मा २५ जना, तिमध्ये १९ जना पुष्टि भएका १ ६ जना शंकास्पद बिरामी छन् । उनीहरुको जाँच भइरहेको छ । प्रदेश २ मा ८० जनामध्ये ६८ जनामा पुष्टि भएको छ भने १२ जना शंकास्पद बिरामी, वाग्मती प्रदेशमा २५ जनामध्ये १ जनामा पुष्टि र २४ जना शंकास्पद बिरामी, प्रदेश ५ मा ९८ जनामध्ये ७० जनामा पुष्टि भएको छ भने २८ जना शंकास्पद बिरामीछन् । आईसोलेसनमा हालसम्म रहेकामध्ये १५८ जनामा पुष्टि भएको छ भने ७० जना संभावित बिरामी छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा मात्रै ११९७ कल आएको र तिनको स्वास्थ्यकर्मीबाट सम्बोधन भएको छ ।
यस्तै आफूलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै मन्त्रालयको वेबसाईटमा स्वमूल्याकंनको विवरण भरेका कुल ३४ हजार ९ सय ३१ जनामध्ये, हालसम्म ३ सय ४५ जना रेड जोनमा परेका छन् ।
गत २४ घण्टामा यसरी विवरण भर्ने ४१२ मध्ये थप ३ जना नयाँ व्यक्ति रेड जोनमा थपिएका छन् । उनीहरुको ट्रेसिङ गर्ने काम भइरहेको प्रवक्ता देवकोटाले बताए ।
हालसम्मको विवरणअनुसार कोरोनाभाइरस कोभिड १९ हालसम्म २० जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३३ जना निको भएर घर फर्किएका छन् । यससँगै हालसम्मको विवरणअनुसार कञ्चनपुरमा १, कैलालीमा ४, बर्दियामा १ , बाँकेमा २४, बाग्लुङ्गमा २, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, चितवनमा २, काठमाडौंमा ५, पर्सामा ६४, रौतहटमा ३, बारामा ३, उदयपुरमा ३२, सप्तरीमा १, भोजपुरमा १, धनुषा १, झापामा २ गरी हालसम्म १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
नेपालमा पहिलोपटक पत्रकारमा कोरोना संक्रमण, शंका लागेर जँचाएका थिए
वीरगञ्ज २ जना पत्रकारलाई कोरोना संक्रमण भएपछि एउटा गम्भिर प्रश्न उठेको छ । त्यो हो उनीहरुमा संक्रमण पुष्टि भए क-कसलाई परीक्षण गर्ने ? के यो सम्भव छ त ?
आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये २ जना पत्रकार पनि संक्रमित भएको बुझिएको छ । प्रदेश नम्बर २ को पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या ६४ जना पुगेको छ । आज मंगलबार मात्रै पर्सामा कोरोना भाइरस संक्रमित ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो । यसअघि छपकैयामा भेटिएका मध्ये १८ जना एकै परिवारका सदस्य भएको पाइएको थियो ।
संक्रमित पत्रकारहरु फिल्ड रिर्पोटिङमा क्रियाशील पत्रकार रहेको बुझिएको छ ।
क्रियाशिल ३९ जनामध्ये दुई जना पत्रकार सम्पर्कमा आएको नारायणी अस्पतालले जनाएको छ। अब उनीहरु रिर्पोटिङको लागि कहाँ कहाँ पुगेका थिए भन्ने बारेमा जानकारी लिईदैछ । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो ।
अरु पत्रकारको स्वास्थ्यमाथि उब्जियो प्रश्न
केहि दिनअघि मात्र प्रहरीले पर्साका पत्रकारमाथि दुर्व्यवहार र दमन गरेको भन्दै पर्साका पत्रकारले आन्दोलन गरेका थिए ।
वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम र नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकारले स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको भन्दै दुई वटा भ्यानमा आएका प्रहरीले पक्राउ गरेर ३ घण्टासम्म भ्यानमा राखेको भन्दै स्थानीय पत्रकारहरु आन्दोलित बनेका थिए ।
गत सोमवार आन्दोलित सबै पत्रकारको भोली (बुधवार) स्वाब परिक्षण गर्ने बताइएको छ । आन्दोलनमा आज भेटिएका संक्रमितसँगै ठूलो हुलमुलमा रहेका सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत आन्दोलनमा उपस्थित सबैको स्वास्थ्यमा गम्भीर प्रश्न उब्जिएको छ ।
उनलाई दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघ पर्साले आन्दोलन गरेको थियो । उक्त आन्दोलनमा आज संक्रमण पुष्टि भएका दुई पत्रकारहरु सहभागी बनेको बताईएको छ । आन्दोलनको उक्त हुलमा आज कोरोना संक्रमण पोजेटिभ पत्रकारहरु रहेको पुष्टि भएपछि वीरगञ्जमा कोरोनाको त्रास बढेको भएको छ । कोरोना संक्रमणबाट हालसम्म विश्वभर ५५ जना पत्रकारको मृत्यु भइसकेको छ ।
पिइसीले दिएको जानकारी अनुसार मार्च १ पछि विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा संक्रमण भेटिएको थियो त्यसपछि प्रेस अभियानले सञ्चारकर्मीलाई रिपोर्टिङमा खटिँदा अनिवार्य सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रवन्ध गर्न आह्वान गरेको थियो ।
यसकारण कोरोनाको जोखिम बढ्यो
बलेवा । लकडाउनकै बीचमा भारतीय सीमा क्षेत्रबाट लुकिछिपी एक व्यक्ति जैमिनीमा प्रवेश गरे । भारतको मुम्बई शहरबाट दशगजासम्म आइपुगेका उनी जैमिनी—८ छिस्तीको पालुङखोला नजिकैबाट सुरक्षाकर्मीको आँखा छलेर केहीदिन पहिलेमात्रै नगरमा भित्रिएको हो । उनको प्रवेशले नगरमा ठूलो हल्लाखल्ला मच्चियो ।
मुम्बईमै पिसिआरबाट कोरोना जाँच गरेको बताउने उनीमाथि नगरवासीले विश्वास गरेनन् । नगरमै रहेको क्वारेन्टाइनमा राख्ने नगरपालिकाको प्रयासलाई स्थानीयवासीले नमानेपछि उनलाई सेराबजार ल्याइयो ।
त्यहाँस्थित शान्ति मावि क्वारेन्टाइनमा राख्न खोज्दा स्थानीयवासीको विरोधका कारण उनलाई अन्ततः होम क्वारेन्टाइनमा पठाइयो । घरमा सुरक्षित तरिकाले बसे नबसेको हेर्न पुग्ने जनप्रतिनिधि तथा स्थानीयवासीलाई उनले टेर्दैनन् ।
उनी बसेको ठाउँमा पुग्ने सुरक्षाकर्मी जैमिनीमा छैनन् । लकडाउनको समयमा नगरभित्र कसैलाई भित्रिन नदिन सर्वसाधारणले अनुरोध गर्छन् ।
बाहिरबाट आएकासँग नगरवासी तर्सिन्छन् । तर, सीमानाकामा ज्वारोसम्म जाँच गरेर प्रवेश गराउन पनि नगरले सकिरहेको छैन ।
बागलुङको दक्षिणक्षेत्र प्रदेश नं ५ सँग जोडिएको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा छिमेकी पालिकासँगको सीमानाकाबाट लकडाउनको समय भारत तथा देशका विभिन्न ठाउँबाट प्रवेश गर्नेको कमी आएको छैन ।
सुरक्षाकर्मी कम भएका कारण दक्षिणी सीमाबाट बिनाजाँच भित्रिनेहरु बढेका हुन् । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा सीमानाकामा सामान्य ज्वरोसमेत जाँच नगरी बाहिरबाट मानिस भित्रिएको पाइएको समन्वय प्रमुख राजेन्द्र ढुङ्गानाले बताए। जैमिनी र बरेङ गाउँपालिकाले फितलो सुरक्षा व्यवस्थाका कारण सीमामा सुरक्षा कडाइ गर्न नसकेको गुनासो गरेका छन् ।
“प्रहरी चौकीमा जनशक्ति छैन, हामी कार्यक्षेत्रमा गएर कसैले टेर्दैन”, जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने, “सोचेजस्तो सावधानी अपनाउन सकिएको छैन ।”
जैमिनीको जस्तै समस्या बरेङमा पनि छ । त्यहाँका सीमानाकाबाट गाउँ भित्रिनेको सङ्ख्या धेरै छ । छिमेकी प्रदेश गुल्मी जिल्लामा सडकमार्गमार्फत जोडिने सीमानाका मात्रै बरेङमा २८ वटा छन् ।
त्यही बाटो भएर आएका ४२ जना अहिले पनि बरेङमा होम क्वारेन्टाइनमा रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । त्योबाहेकका पैदलमार्गबाट भित्रिने नाकाको विषयमा तथ्याङ्क नै छैन ।
खुल्ला सीमाबाट गाउँमा भित्रिनेहरुले जनप्रतिनिधिलाई समेत नटेर्ने गरेको उनीहरुको गुनासो छ । सुरक्षाकर्मीको जनशक्ति कम रहेकाले लकडाउनमा पालिका प्रवेश गर्नेहरुको व्यवस्थापन गर्न कठिन भइरहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। दुवै पालिकाले सीमानाकामा सुरक्षाकर्मी खटाउन नसकेका कारण बाहिरबाट प्रवेश गर्नेहरुको सङ्ख्या बढेको जनाएका छन् ।
सङ्क्रमण फैलिएको क्षेत्र र विशेषगरी भारतबाट पैदल आउनेहरुका कारण गाउँमा उत्पन्न त्रास व्यवस्थापन र जोखिम घटाउन कठिन भइरहेको जैमिनी नपाका प्रमुख इन्द्रराज पौडेलले बताए।
बरेङमा एक इलाका प्रहरी कार्यालय छ भने जैमिनीमा दुई प्रहरी चौकी छन् । स्थानीय तहले चाहेको स्थानमा खटाउनेगरी ती चौकीमा जनशक्ति नरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले स्वीकार गर्छ ।
प्रहरी चौकी कुश्मीशेरा र बेलबगरमा ११/११ जनाको दरबन्दी भए पनि दुवै ठाउँमा गरेर जम्मा १५ जनामात्रै सुरक्षाकर्मी रहेको प्रहरी निरीक्षक हेम केसीले बताए। ४५ जना दरबन्दी रहेको बरेङ इलाका प्रहरी कार्यालयमा १९ जना मात्रैले काम गर्नुपर्ने अवस्था रहेका कारण स्थानीय तहले चाहेअनुसारको सुरक्षाको प्रबन्ध नहुने उनले बताए।
“जनशक्ति नै छैन, सकेको गरेकै छौँ” केसीले भने, “उहाँहरुले चाहेको जस्तो सबै नाकामा प्रहरी पुग्न हामीसँग भएको दरबन्दीले पुग्दैन ।” ४९० जनाको दरबन्दी रहेको जिल्लामा २९१ जना प्रहरी मात्रै उपलब्ध छन् ।
बरेङलगायत जिल्लाका केही पालिकामा सशस्त्र प्रहरीको टोली पुगेको भए पनि परिचालनमा समस्या हुने गरेको स्थानीय तहको गुनासो छ ।
काठमाडौंमा पनि जोखिम बढ्यो
औँलामा गन्न सकिने कोराना संक्रमितहरु भएको र निको हुने क्रम बढिरहेको अवस्थामा ह्वात्तै संक्रमित बढेपछि अब काठमाडौंमा पनि जोखिम बढेको छ । लकडाउन क्रमिक रुपमा खुकुलो बनाईँदै जाँदा मानिसहरु आफ्ना थातथलोबाट काठमाडौं आईरहेका छन् ।
काठमाडौंको सडकमा देखिएको भिडभाड, काठमाडौंका तरकारी बजारमा भीड, मानिसहरुको बाक्लो आवतजावत, मास्क पन्जा र सेनिटाईजरवीना नै सडकमा हिँडेका मानिसहरु र क्रमिक रुपमा काठमाडौं भित्रिएकाहरुबाट काठमाडौंमा संक्रमण नबढ्ला भन्न सकिन्न ।
लकडाउनको दिनपनि लम्बिदैँ जाने र संक्रमित पनि बढ्दै जाने अवस्थाले भोलिका दिनमा ल्याउन सक्ने विषम परिस्थितीबारे नेतृत्व गम्भिर छैन । त्यसैले जो जहाँ जसरी बसेका छौँ, लकडाउनको पूर्ण पालना गरि आ – आफ्नो स्थानबाट नेतृत्वलाई घच्घच्याउनुको विकल्प छैन ।
भ्रममा नपर्नुहोस् ! स्वास्थ्य मन्त्रालयले भन्यो – ‘तन्दुरुस्त छु कोरोना हुँदैन भन्ने नठानौँ’
विश्वभर जटिल स्वास्थ्य चुनौति बनेर आएर कोरोना भाइरस ‘कोभिड – १९’ बाट विश्व आक्रान्त छ । नेपाल पनि यो महामारीसँग जुधिरहेको छ । यसैबीच नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण २० देखि ५० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘वयस्कमा कोरोना संक्रमण देखिँदैन भन्ने भ्रममा नपर्न सबैसँग अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म दुई महिनाको शिशुदेखि ८१ वर्षका वृद्धालाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै भने, – “वयस्क युवाहरूले र तन्दुरस्त छु, कोरोना संक्रमण हुँदैन भन्ने गरेको सुनियो तर त्यो सबै भ्रम मात्र हो ।
विश्व र नेपालकै तथ्याङ्क हेर्दा शिशुदेखि वृद्धवृद्धा सबैलाई कोरोना संक्रमण देखिएको डाक्टर देवकोटाको भनाई छ । उनले भने, “नेपालमा कोरोना संक्रमण देखिएकाहरूको तथ्याङ्क हेर्दा २० देखि ५० वर्ष उमेरका मानिसहरूमा बढी देखिएको छ ।”
उनले थपे, धूमपान र सुर्तिजन्य पदार्थको सेवन गर्नेमा कोरोना भाइरसको संक्रमण बढी हुन्छ । उनले सबैमा धूमपान, सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्न सबैलाई उनले अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया