१०१ वर्ष पुगे संस्कृतिविद् सत्यमोहन जोशी, अमेरिकी राजदूतको ट्वीट- सुस्वास्थ्यको कामना

काठमाडौं – नेपाली कला तथा संस्कृतिका ज्ञाता वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षका पुगेका छन्।

वि.सं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका जोशी तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र संस्कृतिविद् हुन् ।

जोशीले वि.सं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाएका थिए । ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो ।

वि. सं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बने।

जोशीले २०१६ सालमा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गरे ।

भाषा, कला, संस्कृतिको संरक्षण, संबद्र्धन र विकासमा उनको महत्वपूर्ण योगदान छ । जोशीको योगदानको कदर गर्दै सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्तलगायत पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

काठमाडौँ विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिको सम्मानसमेत प्रदान गरेको छ ।

गतवर्ष एक सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरले जोशीको सम्मानमा नागरिक अभिनन्दन कार्यक्रम समेत गरेको थियो। तर कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीका कारण लकडाउन भएकाले यसपाला भने कुनै पनि औपचारिक कार्यक्रम राखिएका छैनन्। तर यसपटक लकडाउनका कारण धेरैले सामाजिक सञ्जालमार्फत् उनलाई शुभकामना र शुभेच्छा व्यक्त गरेका छन् ।

जोशीको योगदानको कदर गर्दै यसै वर्ष ललितपुर महानगरपालिकाले उहाँलाई चालकसहितको सवारी साधनको सुविधासमेत उपलब्ध गराएको छ ।

जोशीले भाषा साहित्य र संस्कृति संरक्षणमा योगदान पुर्‍याएका कारण नेपाली साहित्यमा उनको कद निकै उँचो छ ।

यसैबीच अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीटमार्फत् शताब्दी पुरुष संस्कृतिविद्जो शीलाई जन्मदिनको शुभकामना दिएका छन्।

राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिँदै सुस्वास्थ्यको कामना गरेका छन् ।

यसैबीच जोशीले यसपटक आफूलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै कोरोना महामारीसँग लड्न गरिएको लकडाउन पालना गर्न सबैलाई आग्रह गरेका छन्।

लोकपथ परिवार वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको सुस्वास्थ्य, दीर्घायु र सांस्कृतिक क्षेत्रमा अझै धेरै ज्ञान र अनुभव बाँड्न सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दछ ।

शुभकामना ।। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?