भ्यू टावर बनाउने बजेट विद्युतमा लगाउनू : सांसद महत

काठमाडौं । जुम्लाका सांसद गजेन्द्र महतले भ्यू टावर बनाउने बजेट कर्णालीमा विद्युत् पर्‍याउने काममा लगाउन सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै सांसद महतले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिएका हुन् ।

उनले भने “बजेट घाटा छ भन्ने थाहा छ हामीलाई । अबका बजेटहरु भ्यू टावरमा जान भएन । त्यो मूर्ति बनाउने ठाउँमा जानु भएन । पार्कमा जान भएन । जहाँ प्राथमिकता छ त्यहाँ जानुपर्‍यो । हाम्रा लागि राष्ट्रिय गौरबको आयोजना, महाराष्ट्रिय गौरबको योजना भनेको पनि त्यही बत्ति हो । त्यही एउटा बैकल्पिक बाटो हो । उर्जाको पहुँचबाट कोही टाढा रहने छैन । विद्युतको पहुँच हुनेछ भनियो । अहिले पनि जुम्ला विद्युतको पहुँचबाट टाढा छ । त्यो त अकाशको फल जस्तो भइसक्यो । अब बाटोको पहुँच प्राथमिकतामा राखियो । हुम्लाका लागि बाटो कहिले पुग्ने हो थाहा छैन् । सामान्य बाटो र बत्ति पुग्नलाई गाह्रो अरु के प्राथमिकतामा राख्ने ?”

उनले बजेटको असमान वितरण प्रति पनि आपत्ती जनाए । जुम्लामा सडक र विजुली पुर्‍याउने विषयले हरेक बर्ष प्राथमिकता पाएपनि अहिले सम्म बाटो र बिजुली पुर्याउन नसकेको भन्दै उहाँले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न माग गरे ।

उनले भने “५ वर्ष आउन लागिसक्यो । मैले ५ वर्षमा २ वटा मात्रै कुरा राखेको छु बत्ति र सडक पुर्‍याउँछु भनेर । नीति तथा कार्यक्रममा पनि आयो सिद्धान्त र प्राथमिकतामा पनि पर्यो तर अहिलेसम्म बत्तिको ठेगान छैन् । अब अर्को चुनावमा म कसरी जाने हो ? जनता आगाडी कसरी जाने मलाई त गाह्रो भइसक्यो । पैसा कम गएकोमा चिन्ता छैन । असमान वितरणमा चिन्ता हो । यति कराउँदा पनि गाह्रो छ भने कर्णाली कसरी उभो लाग्दो हो ? कसरी जुम्ला उभो लाग्दो हो । निन्द्रा पनि लाग्दैन । ”

लकडाउनबाट सबै भन्दा बढी कर्णाली थला परेको भन्दै उनले कोरोनासंग लड्नका लागि लकडाउनको विकल्पमा बहस गर्नुपर्ने तर्क गरे ।

उनले भने “लकडाउनले ठूलो राहत दिएको महसुस तपाईहरुले गरिरहनुभएको छ हामीले थला परेको महसुस गरेका छौ । कोरोनाबाट लुकाएर मानवसमाजलाई राख्न सकिन्छ कि सकिदैन ? बहसको विषय बनाउनुहोस् । लुकाएर राख्न सकिदैन । योसँग त फेस गर्नुपर्छ हामीले । यो सँग जुधेरै जानुपर्छ । लक डाउन गरेर मान्छेलाई कोरोनाबाट लुकाएर कति साध्य हुन्छ ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?