नेपालले भारतसँगको सिमानामा काँडेतार लगाउनु उपयुक्त हुन्छ : नेता नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सधैभरी विवाद गर्नु भन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा सँधैभरी विवाद गर्नुभन्दा कन्ट्रोल गर्नु राम्रो हुने र त्यसका लागि काँडेतार वा पर्खाल खडा गर्नुनै उपयुक्त हुने बताएका हुन् ।

उनले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्ने बताए । उनले भने ‘जहाँ पनि समस्या पाइराखेको छ । सीमा मिच्ने काम भइराखेको छ । पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ । बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ । त्यसपछि हुँदाहुँदा त सुरक्षा फौजको तैनादी र बाटो निर्माण गर्ने काम सम्म पनि भयो । त्यसैले नियमन गर्ने काममा ध्यान दिन पर्‍यो । नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ ।

अझ सीमै पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा जानै पर्ने भो । यदि विवादै सधैंभरी गर्नु छ भने त्यो भन्दा राम्रो त त्यसलाई कन्ट्रोल गर्ने उपाय के हुन सक्दछ । कन्ट्रोल गर्ने उपायमा जानु पर्‍यो । यसको निम्ति काँडे तार लगाएर हुन्छ की पर्खाल खडा गरेर हुन्छ की सधैभरी विवाद गर्नु भन्दा त क्लियर गरिदिनु राम्रो हो ।’

नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताएका छन् । नक्सामा विवाद हुँदा अनावस्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्न भएको भन्दै समस्या समाधानका लागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने बताए । यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमा समेत नेपालको नक्सा प्रकाशित गर्ने विषयमा विवाद भएको उल्लेख गर्दै विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनुपर्ने बताए । उनले सीमा र नागरिकको रक्षाका लागि सुरक्षा संयन्त्र स्थापना गर्न र विकट क्षेत्रमा कार्यरत सुरक्षा कमीरुको लागि उचित प्रबन्ध गर्नुपर्ने समेत बताए ।

उनले भने ‘हाम्रो आफ्नो सम्पूर्ण भूभाग सहितको आधिकारीक नक्सा प्रकाशित गर्ने कुरामा ढिलाई गर्न भएन् र आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्ने र सीमाको नियमित रुपमा नियमन गर्नुपर्‍यो र विकट सीमा क्षेत्रहरुमा कार्यगत सुरक्षा कर्मीहरुको लागि उचित प्रबन्ध गर्नुपर्‍यो ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेर कहिं कतै नबोलेको प्रष्टीकरण दिएका छन् । उनले आफुले त्यस क्षेत्र नेपालको हो भन्ने सबुत प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेलेको व्यक्ति भएको बताए । उनले भने ‘मैले कहिल्यैपनि कहिं पनि लिम्पियाधुरा, कालापानी लिपुलेक नेपालको भूभाग होइन भनेको छैन् । र यो मन्त्रालयमा आइसकेपछि बरु हामी सित नभएका प्रमाणहरु कहाँ प्राप्त गर्न सकिन्छ त्यसको खोजि निति गर्ने प्रमाणहरु संकलन गर्ने र यथेस्ट प्रमाणहरु जुटाउने कुरामा मैले महत्वपूर्ण भूमिका खेलेको छु ।’ मन्त्री आर्यालले २०३२ सालनमा प्रकाशित गरिएको नेपालको नक्सा प्रचलनमा आएको र उक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक नरहेको तितो यथार्थ भएको कुरा भएको बताए । उनले भने ‘जहाँसम्म नक्साको कुरा हो ३२ सालको हामीले अहिले प्रचलनमा आएको नक्सा छ । त्यो नक्सामा छैन यो तितो सत्य हो । मैले नचाहेर पनि तितो सत्य यो दुनियाको अगाडि छर्लङ्ग भएको विषय हो ।’

राष्ट्रियताको सवालमा मर्न र मार्नका निम्ति तयार रहेको भन्दै कहिं कतै खुट्टा कमाउँछन कि भन्ने आशंका नगर्न समेत मन्त्री आर्यालले आग्रह गरे । बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सुघौली सन्धीले तय गरेको सीमा भित्रको अखण्ड नेपाल हामीले चाहेको तर विभिन्न कारण इतिहासमा भएका कमजोरीका कारण अहिले पनि समस्या रहदै आएको बताए । उनले भने ‘इतिहासमा रहदै आएका कमजोरीको कारणले आज यो समस्या बल्झिरहेको, कचल्टिरहेको एउटा घाउको रुपमा देखा परेको छ । हामी असर छिमेकीपनका आधारमा कुटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न चाहन्छौं ।’

भारतले आफ्नो भूमि नभएको नकसा प्रकाशित गर्दा समेत हाम्रो सरकारले कुटनीतिक नोट लेख्ने काम बाहेक अरु केही गर्न नसकेको सांसद भीम रावलले बताए । उनले भारतले सुघौली सन्धी मिचेर नक्सा बनाउन सक्ने तर हामीले आफ्नो भूमि भएको नक्सा प्रकाशित गर्न नसक्नुको जवाफ सरकारले दिनुपर्ने उनले बताए । उनले भने ‘भारतले आफ्नो भूमि नभएको नक्सा प्रकाशित गर्‍यो । सुघौली सन्धी भनौं या दुई देश बीचका सहमति कुनैपनि पक्षसँग नमिल्ने गरी उसले नक्सा प्रकाशित गर्‍यो ।

उसले नभएको जग्गा आफ्नोमा प्रकाशित गर्ने । हामीले यतिपटक भन्यौं नेपालको नक्सा प्रकाशित गर्न भनेर कि त नेपाली जनतालाई भन्नुपर्‍योे हामीसँग नक्सा लेख्ने प्राविधिक छैनन् । यदि प्राविधिक समस्या हो भने नक्सा बनाउने मान्छे छैनन् या हाम्रो अध्ययन सकिएको छैन् । भारतले तुरुन्तै ल्याउने हामीले आफ्नो देशको सावभौंम सत्ता त्यहाँ गएर हाम्रा विज्ञहरुलाई खटाउने कर्मचारीलाई खटाउने अध्ययन गर्न लगाउने काम त परै जाओस नक्सा पनि प्रकाशित नगर्दा देशभक्त नेपालीहरुको चित्त दुख्छ भन्ने कुरामा हामी सबैले हेक्का राख्नु पर्छ कि पर्दैन् ।’ कुटनीतिक रुपमा काम गर्दै गर्दा पनि स्थलगत रुपमा समेत अध्ययन गर्न सकिने भन्दै त्यस क्षेत्रमा आफ्ना संयन्त्रहरु खटाएर काम गर्न माग समेत गरे । उनले भारतसँग अन्तर्राष्ट्रिय कानून अनुसार सीमा नियमन गर्ने बेला आएको समेत बताए । उनले भने ‘अब भारतसँग अन्तर्राष्ट्रिय कानून अनुसार सीमा नियमन गर्ने बेला आयो, यसरी मिच्दै जाने सीमानामा बाँध बनाउँदै जाने, हामी एउटा बक्तव्य दिने एकचोटी हल्ला हुन्छ कोही कोही मान्छे भन्छन यो हल्ला गर्ने र एकचोटी शान्त हुन्छ, इतिहासमा त्यस्ता् भएको पनि छ मान्छेले त्यतिकै भनेका छैनन् । अव त्यो स्थितिको हामीले अन्त्य गर्नुपर्छ ।’

सांसद उमा रेग्मीले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र नेपालको होइन भारतकै हुन भन्ने प्रकारले सरकारका मन्त्रीले नै समाचार माध्यममा अभिव्यक्ति दिएको भन्दै त्यसको जवाफ पाउनुपर्ने बताए । उनले परराष्ट्र मन्त्री ज्ञवालीले नक्सा प्रकाशित गर्न प्राविधिक कठिनाई भएको बताएको उल्लेख गर्दै उक्त प्राविधिक समस्या के हो समितिमा जानकारी गराउन माग समेत गरे ।

सांसदहरुले नेपालको नक्सा छिट्टै प्रकाशित गर्न, कुटनीतिक पहल मात्रै नभएर स्थलगत अध्ययन सुरु गर्न र सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?