म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुवाको हत्या गरेको अभियोगमा आइतवार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शनिवार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए ।
बुवा मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए।
अभियुक्त कुमारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। अभियुक्त कुमारले प्रहार गरेको ढुङ्गाले अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो ।
प्रनाउ कुँवरका अनुसार छोराले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाको बयान दिएकी र छोरा कुँवरले पनि स्वीकार गरेका छन् ।
“अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ”, प्रनाउ कुँवरले भन्नुभयो । अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छानुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेको बताइएको छ ।
घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरी मुचुल्का बनाई फर्किएको छ । घटनास्थलमै अभियुक्त कुमारले आफूले ढुङ्गा प्रहार गरेको स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया