बिरामी दमौली अस्पताल

तनहुँ । सदरमुकामस्थित दमौली अस्पताल नै बिरामी अवस्थामा रहेको छ । छिमेकी जिल्ला गोरखा, लमजुङ, र कास्कीका केही भेगका बासिन्दाको आस्थाको केन्द्र सो अस्पतालमा उपचारका लागि आउने बिरामी केही सुविधा नपाउँदा निराश हुँदै फर्कने गरेका छन् ।

करीब दुई महिनादेखि आँखा परीक्षण यन्त्र र एक महिनादेखि एक्सरे मेशिन बिग्रिएका छन् । पन्ध्र शय्या क्षमताको प्रादेशिक क्षेत्रको ‘क’ वर्गको अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपिडी, मानसिक, एचआइभी संक्रमितका लागि एआरटी, क्षयरोग, प्रयोगशाला, स्वास्थ्य बीमा, गर्भवती , खोप, औषधालय लगायत सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा रहेको एक्सरे मेशिनको फ्युज गएकाले समस्या आएको दमौली अस्पतालका प्रमुख डा सुनिल पौड्यालले बताए। यन्त्र मर्मतका लागि गण्डकी प्रदेशबाट नै प्रविधि टोली आउनुपर्ने हुँदा लकडाउनका कारण रोकिन पुगेको उनले स्वीकार गरे । बिग्रिएका यन्त्र जति सक्दो छिटो प्रविधि बोलाएर मर्मत गरिने उनले बताए।

अस्पतालमा टिटानाश औषधि र सुई नहुँदा कैयौँ सर्वसाधारण रित्तै हात फर्किन बाध्य छन् । लकडाउनअघिदेखि अस्पतालमा २५ रुपैयाँ पर्ने टिटी सुई नहुँदा सर्वसाधारणले निजी क्लिनिक तथा अस्पतालमा दोब्बर मूल्य तिरेर सेवा लिँदै आएका छन् ।

खिया लागेका फलामजन्य वस्तुले घोच्दा, कुकुर, मुसा, बिरालो, मान्छेले टोक्दालगायत अवस्थामा ज्यानको सुरक्षाका लागि सुई लगाइन्छ ।

लकडाउनका कारण टिटी सुईलगायत अस्पतालको औषधालयमा अधिकांश औषधि अभाव हुँदा बीमा गरेकाहरु अझ बढी प्रभावित भएको अस्पतालका प्रशासन अधिकृत गुरुदत्त घिमिरेले बताए।

टिटी सुई लगाउन दैनिक चारदेखि सात जनासम्म अस्पतालमा आउने गरेको बताइएको छ । कतिपयले बाहिर क्लिनिकबाट टिटी सुई किनेर ल्याएर लगाएर जाने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।

कुकुरले छोरालाई टोकेपछि शनिबार सुई लगाउन पुगेका व्यास नगरपालिका १ की कविता नेपालीले दमौली अस्पतालमा टिटी सुई नभएकाले बाहिर अस्पतालमा गएर लगाउनुपरेको बताइन् ।

अहिले बिरामीको चाप कम भएकाले मागबमोजिम औषधि बाहिरबाट मगाएर भए पनि सेवा दिने गरिएको दमौली अस्पतालका प्रमुख डा. पौड्यालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?