काठमाडौं । कृषि उद्यमी मोहनकुमार बस्नेतले आर्थिक अवस्था कमजोर भएका करीब ७०० विपन्न परिवारलाई राहत वितरण गरेका छन् । लकडाउनका कारण काम नपाएर जीवन निर्वाह गर्न कठिन भएका ती परिवारलाई बल्खु, कुलेश्वर, कालीमाटी, कलङ्की, सामाखुसीलगायत स्थानका स्थानीय तहसँग समन्वय गरी उहाँले गत चैत २२ गतेदेखि चामल, दाल, तेल, आलु, प्याज र नुनजस्ता खाद्य सामग्री उपलब्ध गराएका हुन् ।
फोहर मैलाका क्षेत्रमा क्रियाशील श्रमिक, दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सम्बन्धित पक्षलाई प्रत्यक्ष भेटी उनीहरुको अवस्था बुझेर राहतस्वरुप खाद्य वस्तु उपलब्ध गराएका समाजसेवी बस्नेतले विपन्न परिवारको पहिचानमा वैज्ञानिक प्रणाली कार्यान्वयन हुन नसकेका कारण लक्षित वर्गले राहत प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गरे । दीनदुःखीको चुल्हो निभ्न नदिने अभियानमा लागेको बताउँदै उनले आयस्रोत हुने वर्गले नहुने निमुखा समुदायलाई सहयोग गर्न आग्रह गरे ।
महानगरपालिकाले नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरे पनि विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ । पछिल्लो समय विभिन्न वडा, धार्मिक संस्थाका साथै केही समाजसेवीले विपन्न वर्गलाई खाना खुवाउने गरेको पाइएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया