क्वारेन्टाइनमा बसेका १ सय ६१ घर फिर्ता

काठमाडौं । कोरोनाको कुनै लक्षण नदेखिएपछि रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले १६१ जनालाई घर पठाएको छ । कोरोना जोखिम नियन्त्रणका लागि गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आज घर पठाइएको हो । दुई सातासम्म क्वारेन्टाइनमा बस्दा कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य जाँच गरी उनीहरुलाई घर पठाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन् ।

अध्ययन तथा रोजगारीका सिलसिलामा देशका विभिन्न ठाउँमा पुगेका उनीहरुलाई गाउँपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनबाट घर पठाइए पनि उनीहरुलाई केही समय होम क्वारेन्टाइनमा बस्न भनिएको छ । गाउँपालिकाका अझै पनि धेरै मानिस क्वारेन्टाइनमा छन् । उनीहरुको समयसमयमा स्वास्थ्य जाँच भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी भूमे गाउँपालिकाले पनि क्वारेन्टाइनमा बसेका २३ जनालाई घर पठाएको छ । देशका विभिन्न जिल्लाबाट आएका उनीहरुलाई विभिन्न ठाउँका क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेको १४ दिनसम्म संक्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?