सई चन्दको साहासीक काम, लाखौं राजश्व छलीको कपडा बरामद

काठमाण्डौं, ३ असोज ।भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको २५ लाख रुपैयाँ बराबरको प्रहरीले कपडा बरामद गरेको छ । युनाइटेड मञ्जुश्री यातायात प्रा.ली. द्वारा संचालित ना ५ ख १०२ नम्बरको संस्कार संस्कृति यातायातको दिल्ली – काठमाण्डौं चल्ने उक्त बसबाट उक्र कपडा बरामद भएको हो ।बस सुनौली नाका भई नेपाल भित्रिएको थियो ।उक्त बसलाई नागढूङ्गा प्रहरीले बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा दशै बजारलाई लक्षित गरि भन्सार छली अबैध रुपमा भित्राएको साडी, कुर्ता सुरुवाल लगायतका सामान बरामद भएको हो । यात्रुबाहक सो बसमा फल्स बटम बनाइ २५ लाख बराबरको अबैध कपडा सहित काठमाण्डौं भित्रिन लागेको अबस्थामा महानगरीय प्रहरी प्रभाग नागढुङ्गामा कार्यरत प्रहरी नायव निरीक्षक देउबहादुर चन्दको टोलीले नियन्त्रणमा लिएको हो ।उक्त गाडी सहित चालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय यात्रुबाहक बस प्रयोग गरी अवैध अपडा भित्राउने क्रम बढ्दो छ ।नागढुंगा प्रभागका सई देउबहादुर चन्दले बसमा लुकाउन सकिने सबै पार्टपुर्जामा फल्स बटम बनाएर अवैध लत्ताकपडा ल्याएको बताए । उनले गाडी चालकले पछिल्लो चार वर्षयता यसरी नै तस्करी भइरहेको प्रारम्भिक बयान दिएको बताएका छन्। । बरामद सामान छोड्नका लागि प्रहरी निरिक्षक सम्मले दबाब दिएका थिए ।‘राति इन्स्पेक्टर सापले कोठामा बोलाएर छाडिदेऊ हामीलाई सहयोग गर्ने मान्छे हुन् भन्नु भो, मैले मानिनँ, उहाँले बारम्बार भन्नु भएको हो,’ सई चन्दले भने । चन्द गत वर्ष भदौ २२ मा मातातीर्थमा डाँका समूहसँग दोहोरो भिडन्त गरी बढुवा पाएका सई हुन्। ।प्रहरीले बस चालक श्यामसुन्दर नकर्मी र सहचालक रविन्द्रप्रसाद महाजूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।  यसअघि भदौ १९ मा महानगरीय अपराध महाशाखाको टोलीले सोही रुटमा चल्ने लुम्बिनी यातायातको ना७ख ३९९५ नम्बरको बसबाट लत्ताकपडासहित एक सय ३४ थान मोबाइल बरामद गरेको थियो । अघिल्लो घटनामा जस्तै लुकाएर तस्करी भइरहेको अवस्थामा महाशाखाको टोलीले बिहान ४ बजे बस नियन्त्रणमा लिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?