२०७७, २३ बैशाख मंगलवार १८:३०

मम्मी म बाँचे !


प्रकाशित मिति : २०७७, २३ बैशाख मंगलवार १८:३०

भानू दाहाल – सधै झैँ आज पनि विहानै उठेर उनी काममा निस्किन् । रातभर पानी परेकोले होला आकाश छ्याङ्ग उघ्रिएको थियो । सुनसान सडकमा चिसो हावा मात्र दौडिरहेको थियो । त्यो विहान गत बैशाख २ गतेको हो ।

चारवटा घरको विहानको काम सकेर डेरा फर्किदा दश बजिसकेको थियो । दश बजेतिर कोठा फर्किएर खाना बनाएर खानु र एकदुई घण्टा आराम गरेर फेरी दुई बजेतिर काममा निस्किनु उनको दैनिक तालिका हो । यहि तालिकामा जिन्दगी चलेको दुई दशक बित्न लाग्यो ।

बिरामी हुँदा बाहेक उनको काममा कुनै दिन पनि छुट्टि छैन । न सार्वजनिक विदा, न कुनै चाडपर्व । चाडपर्वमा त झन् काम दोब्बर जत्तिकै हुन्छ । घर गएका आफ्ना साथीहरुको काम समेत भ्याईदिनु पर्ने हुन्छ । कहिलेकाँही त उनलाई चाडपर्व नआइदियोस् झँै लाग्छ ।

भित्ताको घडिले एघार बज्नै लागेको संकेत गरेको थियो । उनले खाना बसालिन् । एक्लै भएपनि दिउँसोको खानामा दाल, भात, तरकारी, अचार अनिवार्य हुन्छ । दहि वा मोही पनि छुट्दैन । बरु रातिको खाना जस्तो भएपनि चल्छ ।
खाना बनाउँदै गर्दा कोठा अगाडि कटहरको रुखमा बसेर निक्कैबेर देखी काग कराएको सुनिरहेकी थिइन् । सुरुमा त वास्ता गरिनन्, तर झन्झन् चर्को स्वरमा कराउन थालेपछि भने दिक्क मानिन् ।

काग उनकै झ्यालतिर फर्किएर कराईरहेको थियो । उनले कागतिर हेरेर भनिन्, ‘सुबोल्, सुबोल्…।’ एकछिनमा काग उड्यो । एकाएक उनको मनमा चिसो पस्यो, कतै कागले खराब समाचार लिएर आएको त होईन ?

केहि दिन देखी त्यो काग निरन्तर त्यहि समयमा, त्यहि ठाउँमा आएर उनको झ्यालतिर फर्केर कराउथ्यो । केहीले झटारो हाने जस्तो गर्थिन्, काग उड्थ्यो । तर, आज केही नगरि काग आँफै उड्यो ।

अनायासै उनको मनमा कुरा खेल्न थाल्यो । सात समुन्द्रपारी रहेकी छोरी सम्झिन् । हत्तपत्त फोनमा हात पुग्यो । छोरीको फोटो हेरेर त्यँहि थिच्दा छोरीलाई फोन जान्थ्यो । फोन डायल गर्न उनले जानेको पनि यत्ति हो । थिच्नु अगाडि झल्यास्स सम्झिन्, ज्या, छोरीको देशमा त यतिबेला मध्यरात पो भएको छ त ! मस्त निद्रामा होली । होस्, भरे गरौँला ।

अपरान्हको काम सकेर डेरा फर्किदा अबेर साँझ परिसकेको थियो । खान मन नलाग्दा नलाग्दै पनि चाउचाउ पकाएर खाईन् । छोरीलाई फोन गरिन्, फोन उठेन । दुईतिन पटक गर्दा पनि उठेन । कल ब्याक पनि आएन । आउला कि भनेर हातमै फोन राखेर ओछ्यानमा पल्टिन् ।

दिनभरिको कामले थकित थिईन् । छोरीले भाइबरमा पठाईदिएको फोटोहरु दोहो-याइ तेह-हाइ हेर्दाहेर्दै मोवाईल हातमै लिएर भुसुक्क निदाइन् । कतिबेला हातबाट छोडिएर फोन भुईँमा खसिसकेको रहेछ, पत्तै भएन । मध्यराततिर घण्टी बज्यो । झसङ्ग भएर बिउँझिन् ।

छोरीले गरेको होला भनेर हत्तपत्त हेरिन् । स्क्रिनमा छोरीको फोटो आएको थिएन । न्युयोर्कबाट छोरीसँगै बस्ने साथीले फोन गरेकी रहेछ । जे सुन्नु नपरोस् भन्ने कामना गरेर विहान बेलुका दियो बालिरहेकी थिइन्, आखिर त्यहि खबर लिएर आएको थियो त्यो कल ।

उनको हातबाट फोन खस्यो । फेरी तीनचार पटक लगातार फोन बज्यो, तर फोन सम्म उनको हात पुगेन । उनी ओच्छ्यानमै बिलाईन् ।
बैशाख ३ गते, विहान । अबेरसम्मै ढोका नखुलेपछि सँगैको अर्को कोठामा बस्ने बैनीले ढोका ढक्ढकाईन् । निक्कैबेरपछि ढोका खुल्यो । उनी बोल्न सक्ने अवस्थामा थिईनन् । एक शब्द ‘छोरी…’ मात्र भनिन् । भुईँमा झरिरहेको फोन इसाराले देखाईन् ।

त्यो बैनीको मनमा चिसो पस्यो । रनभुल्ल परिन् । के गरौँ के हुँदै फोन टिपेर थुप्रै पटक मिस्डकल देखाएको त्यहि नम्बरमा डायल गरिन् ।

उताबाट छोरीको साथीले भनिन्, ‘कोरोना संक्रमण भएको त दुईहप्ता भईसक्यो । उसले ममिलाई सुनाउन भनिन्। हिजो चाँही अलि गाह्रो भएर एम्बुलेन्स आएर हस्पिटल लग्यो ।’

सान्त्वना दिँदै अझ थपिन्, ‘अवस्था राम्रै छ । दुईचार दिनमा डिस्चार्ज गर्छ होला । मैले केयर गरिरहेकी छु । आन्टिलाई चिन्ता नलिनुस् भन्दिनु है ।’

लाउड स्पिकरमा भएको कुराकानी उनी पनि सुनिरहेकी थिईन् । थोरै आशा जाग्यो, सान्त्वना पनि मिल्यो । तर, उताबाट भने जस्तो स्थिति सामान्य छ भन्नेमा उनी विश्वस्त थिईनन् ।

सामान्य भए किन हस्पिटल लानुपपर्दथ्यो ? यत्रो दिनपछि मलाई सुनाउनु भनेकै स्थिति नराम्रो भएर हो । उनको मनमा अनेक तर्कना खेल्न थाले । छोरीसँगै बोल्न नपाएसम्म उनको छटपटि घट्नेवाला थिएन । हस्पिटलमा रहेकी छोरीसँग तत्काल बोल्न मिल्ने अवस्था पनि थिएन ।

निक्कै दिन देखी दाहिने आँखा फर्फराएको, दियो बाल्दा आगो भर्भ-याएको, झ्याल अगाडि आएर काग कराएको त उता छोरी बिरामी भएर पो रहेछ ! उनलाई यस्तै लाग्यो । कुल देवता सम्झिन् । थाहा पाएजति भगवान पुकारिन् । भाकल गरिन् ।

दिनमा भोक हरायो । रातमा निन्द्रा हरायो । भोक, निन्द्रा मात्र होइन उनको शरीरबाट आत्मा नै हरायो । बाढीले बगाएर ल्याएको बगरको मुढोझै ओछ्यानमा इन्तु न चिन्तु भएर लडिरहिन् ।

उनी घरघरमा गएर भाँडा माझ्ने, लुगा धुने काम गर्छिन् । झण्डै दुई दशक देखीको उनको पेशा हो यो । यसैबाट उनले दुई जनाको परिवारको गुजारा चलाईन् । छोरीलाई बाह्र कक्षा सम्म पढाईन् ।

उनी उमेरले चालिस बर्ष पार गरेको अनुमान गर्छिन् । ठ्याक्कै उमेर थाहा छैन । उनी जन्मिएको साल उनको आमालाई पनि हेक्का थिएन ।

आमालाई यति याद थियो, उनी जन्मिएको बर्ष सिस्ने पाखामा ठुलो पहिरो गएको थियो । खनि, खोस्री गर्दा दुई महिना खान पुग्ने बारी पनि त्यहि पहिरोले बगाएको थियो ।

उमेरको ठेगान मात्र होईन, उनको नामको पनि कुनै प्रमाण छैन । नागरिकता नै छैन । बाआमा बाचुन्जेल आवश्यकता परेन । विवाह गरेर गएको घरकाले पनि बनाईदिन वास्ता गरेनन् । न्वारनमा पुरोहितले राखिदिएको नाम गोमा थियो रे । तर, बाआमाले ‘ठूली’ भनेर बोलाउन थाले । पछि उनको नाम नै ठूली बस्यो ।

उमेर चालिस बर्ष वरिपरी भएपनि उनी साठी बर्ष पार गरे जस्तो देखिन्छिन् । कोर्न नभ्याएर गुजुल्टो बनाएको कपाल, चाउरी परेको अनुहार, दुब्लो शरीर । दिनभर पानी खेलाउँदा छाला खुइलिएर सेतै फर्किएका हत्केला । उनलाई हेर्दा यस्तो लाग्छ, उनी गुदी चुसेर फालेको आँपको कोया जस्तै हुन् ।

उनलाई गरिबीले चुस्यो । दुःखले चुस्यो । अभावले चुस्यो । जिम्मेवारीले चुस्यो । चुस्यो नियतिले नै । बाँकी रह्यो त्यहि चुसेर फालेको आँपको कोया जस्तो हाड छालाको शरीर मात्र ।

‘मेरो जन्म नै नरुचाईएको थियो’, आफ्नो विगत सुनाउँदा उनी यसै भन्छिन् । जति सन्तान जन्मिए पनि एउटै बाँच्न नसकेकोले उनका बाआमा हैरान भएछन् । बच्चा हुने उमेरले नेटो काट्नै लाग्दा जन्मिएकी उनी भने कसोकसो बाँच्न सफल भईन् ।

उनी बाँचेकोमा बाआमा भने खासै खुशी भएनन् रे । छोरो जन्मियोस् भनेर भाकल गरेका बाले छोरी भएकोमा धामी र देउताले नै आफुलाई झुक्काएको गुनासो पछिसम्म उनकै आगाडि गरिरहे । छोरीबाट वंश नधानिने चिन्ता थियो बाआमालाई ।

उनको परिवार बिहान बेलुका हातमुख जोड्न पनि धौ–धौ पर्ने अवस्थामा थियो । बर्षेनी बच्चा खेर जाँदा आमा रोगी भईसकेकी थिईन् । बा पनि दमका रोगी थिए । उनी सानै उमेर देखी मेलापात गरेरै हुर्किदै गईन् । विस्तारै परिवारको भरथेग हुदैथिन् ।

तर, रोगले आमा थला परेपछि उनको जीवनले अर्कै मोड लियो । सानो उमेरमा नै परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आईपुग्यो । खाने खेल्ने उमेरमै उनी परिवार धान्नु पर्ने बाध्यतामा परिन् ।

उनलाई पनि अरु बच्चा जस्तै स्कुल जान मन लाग्थ्यो । आमाले दुई चुल्ठो बाटेर रिबन बाँधिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । भाँडाकुटी, गट्टा खेल्न मन लाग्थ्यो ।

खेलेर घर फर्किदा आमाले पकाएर राखिदिएको खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यि सबै रहरहरु उनको रहरमै सिमित भए ।

दिनदिनै आमालाई रोगले झन्झन् च्याप्न थाल्यो । उपचारको निम्ति धामीझाँक्री खोज्नु पर्ने भयो । अस्पताल कहाँ हो भन्ने सम्म थाहा थिएन । थाहा भएपनि त्यहाँ सम्म जाने हैसियत थिएन । फाट्टफुट्ट घर भएको गाउँको पुरै भर धामीझाँक्रीमै थियो । उपचार भनेकै जोखाना र झारफुक थियो ।

उनले पनि गाउँको जान्ने धामीलाई बोलाईन् । उसले भने अनुसार सामाग्री तयार पारिन् । राति धामी बस्यो, जोखना हे¥यो । धामीले पत्ता लगायो– छोरीकै ग्रहले पिरेर आमा बिरामी भएकी हुन् । उपचार पनि सुझायो– छोरीको कन्यादान गरे तुरुन्तै निको हुन्छ ।

बाआमा, छरछिमेकीले धामीको कुरामा विश्वास गरे । विश्वास त उनलाई पनि लाग्यो । विवाह गर्ने उमेर भएको थिएन । भर्खर बाआमाको साहारा बनेकी थिईन् । वृद्ध रोगी बाआमालाई छोडेर जान मन थिएन । तर, आमालाई निको हुन्छ भन्ने विश्वासमा उनले नकार्न पनि सकिनन् ।

छोरीको कन्यादान भएपनि आमालाई निको भएन । त्यसको केही समयपछी आमाले संसार छोडिन् । अलि पछि बा पनि बिते ।

विवाह गरेर गएको घरतर्फ पनि सन्तोष गर्ने कुनै ठाउँ थिएन । गरिबी त्यस्तै थियो । अलिकति भएको पाखो बारी खनिखोस्री गर्दा आधा बर्ष पनि खान पुग्दैन थियो । मेलापात नगरी चुल्हो बल्दैन थियो ।

घामपानी केही नभनी रातोदिन घोटिनुपर्दा उनी आफ्नो जिन्दगी देखी नै दिक्दार मान्थिन् । जहाँ गएपनि दुःखको पहाडले छोडेन । सुख, खुशी कुन चरीको नाम हो उनले थाहा पाईनन् । तैपनि आफ्नो कर्म यस्तै रहेछ भनेर चित्त बुझाउथिँन् ।

एक साँझ बारीबाट बाख्रा खोरमा सार्दै थिईन् । फुच्चे देवर दौडिँदै आएर भन्यो, ‘भाउजु… भाउजु… दाई लड्नु भो ।’ उनि झस्किन् । पल्याकपुलुक हेरिन् । छिमेकीहरु उनकै घर पछाडि भित्तातिर दौडिदै थिए । उनी पनि पछिपछि दौडिन् ।
घाँस झार्न रुख चढेका उनका पति हाँगो भाँचिएर ढुंगामा पछारिएछन् । भिडमा भएको हल्लाखल्ला उनले अलि परैबाट

सुनिन्–
‘धुकधुकी छैन…’
‘नाडी त अलिअलि छ त…’
‘अस्पताल लगौँ, अस्पताल…’
‘सास छैन के अस्पताल लानु…’

नजिकै पुग्दा उनले आलो रगतको आहाल देखिन्, त्यँहि मुर्छा परिन् । कसैले उनलाई उठाएर घर ल्यायो । पतिको लास उठाएर घाट लगियो । त्यहि दिन देखी उनको भर्खर झुल्किदै गरेको जीवनमा कहिलै नमेटिनेगरि ग्रहण लाग्यो ।
त्यसको दुई महिनापछि छोरी जन्मिई ।

एकातिर पतिको जुठो बारिरहेको ज्यान अर्कोतिर सुत्केरी । काम नगरी मुखमा माड लाग्ने अवस्था थिएन । चिन्ता ज्यानको भन्दा पहिला भोकको थियो । सुत्केरी भएको दोस्रो हप्ताबाटै कम्मरमा पटुका कसेर काममा निस्किन् ।

जस्तोसुकै बिषम परिस्थिति आएपनि डटेर सामना गर्ने बानी परिसकेको थियो । झन् छोरीको अबोध अनुहार हेर्दा त दुःखको पहाड फोड्छु भन्ने हिम्मत पलाउन थाल्यो । संघर्ष गरेरै अभावमा सुन फलाउने प्रण गरिन् मनमनै ।

तर, घरमै सासुससुराको व्यवहार दिनदिनै टर्रो बन्दै गएको थियो । छोरा बिनाको बुहारी उनीहरुलाई बोझ भएको थियो । गाउँमा चलेको वाहियात हल्लाले झनै मलजल गरिरहेको थियो ।

‘उमेरकी बिधवा बुहारीले घरको इज्जत बचाइराख्दिन…,’ भन्दै सासुससुरा खासखुस कुरा गरेको उनले धेरै पटक सुनिसकेकी थिइन् ।

दुःखसँग लड्ने प्रण गरेकी थिइन् । दुनियाँसँग लड्ने हिम्मत गरेकी थिइन् । तर, घरभित्रै आफन्तसँग लड्ने आँट गरिनन् । मुटुमा बाँड रोपिने वचन सुनेर उनी दिनदिनै कम्जोर बन्दै गईन् ।

हुँदाहुँदा छोरो टोकेको आरोपसम्म लगाए । अग्नि साक्षी राखेर ‘आजबाट यो घर तिम्रै हो’ भनेर भित्र्याएको घर अव आफ्नो लाग्न छोड्यो ।

एक बर्षको छोरी बोकेर उनको जाने ठाउँ कतै थिएन । घामपानी छल्ने ओत मात्र भएपनि त्यहि घरले दिओस् भन्ने उनको चाहना माथि तुषारापात भइरह्यो । अन्ततः छोरी च्यापेर सधैँको लागि घर छोड्ने निधो गरिन् । घर मात्र होईन गाउँ नै छोडिन् ।

काठमाण्डौ सहर विरानो थियो । अन्जान सहरमा न कोही चिनेको थियो, न कतै बास माग्ने ठाउँ । सुनेकी थिइन् सहर निर्दयी हुन्छ । तर सुनेको कुरा सबै सत्य कहाँ हुन्छ र ! उनको लागि काठमाण्डौ दयालु निस्कियो । एक दम्पतिले आमा छोरीलाई पाटीमा बसिरहेको देखेर उठाएर घर लगे ।

उनले घामपानी छल्ने ओत पाईन् । एक पेट खान पाईन् । त्यो भन्दा ठुलो अब छोरी बचाउँछु भन्ने आत्मबल पाईन् । भन्थे, ‘संसारमा कोही नहुनेको भगवान हुन्छन् ।’ उनलाई हो झैँ लाग्यो, ति दम्पति उनको लागि भगवानै भएर आईपुगे ।
उनले त्यो घरको काम सघाईदिन थालिन् । बिस्तारै टोलका अन्य घरमा पनि काम खोजिन् । भाँडा माझ्ने, लुगा धुने काम मिल्यो । अलिअलि आम्दानी पनि हुन थाल्यो । हिम्मत बढ्यो । छोरी पढाउने सपना देख्न थालिन् । जिन्दगीले कोल्टे फे-यो ।
सहरको बसाई सहज भने अझै थिएन । पुग्ने कमाई थिएन । भाँडा माझेर पाउँने पैसा कति नै हुन्थ्यो र ! धेरैवटा घरको रकम जोड्दा अलिकति भए जस्तो लाग्थ्यो । छोरी पढाउन, खानबस्न, औषधी उपचार गर्न धौधौ थियो । तर, आफ्नै कमाईले जीवन चलेकोमा उनलाई औधी सन्तुष्टि मिल्थ्यो ।

त्यहि कमाईले छोरी हुर्काइन्, बाह्र कक्षा सम्म पढाईन् । पाहुनापासा देखी राजा साहु सम्मलाई पु¥याईन् । परिआएका हरेक गर्जो टारिन् । अहिले बसेर ती दिन सम्झिदा उनी आँफै चकित हुन्छिन् । ति कठिन दिनहरु उनलाई एउटा खराब सपना जस्तो लाग्छ ।

सपना त विस्तारै मानसपटलबाट हराउँदै जान्छ । तर, भोगेका दिनहरु स्मृतिबाट कहिल्यै हराउँदैन । तिनै दिनहरु याद बनेर बेलाबेला उनलाई चिमोट्न आईपुग्छन् । र त समस्यासँग जुध्ने प्रेरणा बनेका छन् ।

डिभी चिठ्ठा परेर छोरी अमेरिका पुगेको दुईबर्ष बित्न लाग्यो । छोरी उडेको दिन एयरपोर्टबाट डेरा फर्किएर बेस्मारी रोईन् । रुदाँरुदै खित्का छोडेर हाँसिन् पनि । छोरी टाढा पुगेकोमा पिडा एकातिर थियो भने त्यो भन्दा ठुलो त उसको भविश्य बनेकोमा वेहद खुशी ।

साना-साना खुशी खोजिरहँदा भगवानले एकै पटक ठुलो खुशी दिएको अनुभुति गरिन् । उनले सन्तुष्टिको लामो सास फेरिन् ।

गत दुई हप्ता उनको होसहवास उडेरै बित्यो । ती दिन बिताउन उनलाई एक जुग बिताए जत्तिकै लामो लाग्यो । कुलको दियो थापेर रातदिन छोरीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिक्षा गरिरहिन् ।

बैशाख १८ गते, बिहान पाँच नबज्दै फोन बज्यो । फोन स्क्रिनमा छोरीको उहि मुस्कुराईरहेको फोटो डिस्प्ले भईरहेको थियो । खुशीको आँसुले आँखा भरिए । गहभरिको आँसुले छोरीको फोटो धमिलो देखियो ।

फोन छातिमा च्यापिन्, चुमिन् । हतार–हतार आँसु पुछेर भिडियो कल रिसिभ गरिन् । ‘छोरी…,’ उनी पागलझैँ जोडले चिच्याइन् । उताबाट भक्कानिएको स्वरमा छोरीले भनिन्, ‘मम्मी म बाँचे ।’

प्रतिक्रिया दिनुहोस