नेपालगञ्जमा भेटिएका संक्रमित बारे थप विवरण : पुराना संक्रमितकै सम्पर्कमा थिए

काठमाडौं । नेपालमा आज (आईतबार) एकैदिन १० जना संक्रमित थपिएका छन् । आज नेपालगन्जका ९ जना व्यक्ति र वीरगन्जका १ जना युवामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

नेपालगञ्जमा यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ९ जना व्यक्ति यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेका जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्जका ९ जना संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार आज थपिएका १० जना संक्रमितको उमेर ७ वर्षदेखि ५८ सम्मको रहेको छ । उनीहरुलाई नेपालगन्जस्थित अस्पताल लगिँदै छ । यसअघि पनि त्यस अस्पतालमा १ जना उपचाररत छन् ।

यस्तै आज आईतबार नै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोना भाइरस आशंकामा हालसम्म पिसीआर विधीबाट १३ हजार ४ सय १४ जनाको परीक्षण गरिएको छ भने आरडिटी विधीमार्फत् ४९ हजार ६ सय ८८ जनाको परिक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै १ हजार ४ सय ८९ जनाको जाँच गरिएको छ ।

यस्तै नेपालमा हालसम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाईनमा बसीरहेका छन् । आईसोलेसनमा बस्नेको संख्या ७७ रहेको छ । तिमध्ये काठमाडौंमा ४ र बाहिर जिल्लामा ७३ जना आईसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

विभिन्न प्रदेशबाट मानिसहरुले मन्त्रालयको वेवसाईट र एपमा भरेको स्वमूल्याकंनका आधारमा हालसम्म ३२१ जना रेड जोनमा परेका छन् । संभावित संक्रमित खोजी गर्न थालेको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा मात्रै २ जना रेड जोनमा परेका छन् ।

नेपालमा संक्रमित मध्ये हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

यसअघिका संक्रमितमध्ये एक जना रुपन्देशीमा १ जना नेपालगन्जमा, १ जना धनगढीमा, भरतपुरमा एकजना वीरगञ्जमा १ जना र विराटनगरमा ३१ जना उपचाररत छन् । आज थपिएका संक्रमितलाई नेपालगन्जस्थित अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?