‘रौनक छाउँदै थियो, शोकमा डुब्यो गाउँ’

कपिलवस्तु, २८ माघ- — तीन दिनअघि छोरीको विवाह तय भएकाले घरमा रौनक सुरु भइसकेको थियो । परिवारका सदस्य काम बाँडफाँट गरेर आवश्यक सामान जोहो गर्न जुटिसकेका थिए । निम्तालुबारे छलफल भइरहेको थियो । बिहान ५ बजे सिँचाइ मन्त्रालयबाटै फोन आयो– ‘सचिव सवार गाडी त्रिशूलीमा खस्यो ।’अचानक माहोल बदलियो । राममन्द परिवारमा रुवाबासी मच्चियो दुर्घटनामा सचिव यादव र आफन्तकी छोरीको मृत्यु भयो भने सचिवका छोरा हराइरहेका छन् । यो खबरले यादवको परिवार मात्र होइन, कृष्णनगर नगरपालिका ८ डिहवा गाउँ पूरै शोकमा डुबेको छ । ‘४५/४६ घर रहेको गाउँका अभिभावक थिए,’ छिमेकी जगदेव यादवले भने, ‘बिहानैदेखि गाउँमा रुवाबासी छ ।’ स्थानीय दिनभर मलिन अनुहारमा भेटिए । ‘कतिपयले घटना पत्याएकै छैनन्,’ उनले भने,’ साँझ हाँसीखुसी भलाकुसारी गर्‍यौं, राम्रो मान्छेलाई दैवले चुँडेर लैजाँदा दु:खी छौं ।’ गाउँका सानादेखि ठूला सबैका आखा ओभाएका छैनन् । शनिबार अधिकांशले खाना खाएनन् । ‘पूरै गाउँमा सन्नाटा छाएको छ,’ उनले भने, ‘गाउँमाथि ब्रजपात परेको छ ।’सचिव यादवकी माइली छोरी डा. रञ्जनाको बिहेको कुरा छिन्न सचिव यादव घर आएका थिए । माघ २५ गते छोरीको तिलक लिएर उनी वरको घर भैरहवा गएका थिए । विवाह फागुन ११ गते भैरहवाका डा. रणधीर यादवसँग पक्का गरिएको थियो । तीन छोरीमध्ये जेठी नितुको बिहे भइसकेको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?