दैलेख । पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा भारत तथा अन्य मुलुकबाट आएका सबै जना क्वारेन्टाइन नबसेको पाइएको छ ।
नेपाल सरकारले भने चैत १ गते यता स्थानीय तहमा प्रवेश गरेका विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरेको छ।
गएको चैत १ गतेदेखि भारत तथा अन्य मुलुकबाट नगरपालिका प्रवेश गर्ने १ सय ९५ जना रहेका छन् । तर क्वारेन्टाइनमा भने १ सय २६ जनामात्रै बसेका छन् ।
बाँकी नेपालका अन्य भुभागबाट पैदलयात्रा गरेर नगर प्रवेश गर्ने १३ जनालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले बताए । गाडीमा उद्वार गरेर ल्याइएकाहरूलाई भने स्वास्थ्य परिक्षणपछि घर पठाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभर हालसम्म १ सय ३९ जना क्वारेन्टाइनमा बसेका छन् । सोमध्ये शनिवारसम्म १ सय २४ जना क्वारेन्टाइनमा बस्ने अवधि पुर्याएर घर फर्किसकेका छन् । भने १५ जना क्वारेन्टाइनमा बसिरहेका छन् । नगरपालिकाभर पाँच स्थानमा १ सय ५० बेड क्षमताको क्वारेन्टाइन रहेका छन् । चामुण्डा कलेजमा रहेको क्वारेन्टाइनमा १९ जना, बस्तेकोटमा १७ जना, डंसुरमा १६ जना, पालेतडामा ५५ जना र ओमकोटमा रहेको क्वारेन्टाइनमा १७ जनासम्म बसेका छन् ।
स्वयम सेवक परिचालन
नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रण अभियानमा युवाहरूलाई पनि समावेश गरेको छ । प्रत्येक वडामा १० जनाको दरले युवाहरू परिचालन गरिएको नगरपालिकाका उपमेयर तारा शाही खत्रीले बताइन् । उनिहरूले लकडाउन उल्लंघन नगर्न नागरिकलाई सुझाउने, अन्य पालिका तथा जिल्लाबाट नगर प्रवेश गर्नेहरू बारे बुझ्ने, विवरण संकलन गर्ने लगायतका कार्य गर्नेछन् । उनिहरूलाई खाजा र रिचार्ज कार्ड खर्चस्वरूप केही रकम नगरपालिकाले दिनेछ ।
आइसोलेसन बेड निर्माणको तयारी
नगरपालिकाले विन्द्रासैनीमा आइसोलेसन निर्माणको तयारी गरेको छ । नगरको विपद् व्यवस्थापन समितिले ४५ सैयासम्मको आइसुलेसन निर्माणको तयारी गरेको उपप्रमुख शाहीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया