काठमाडौं । विपन्न वर्गहरुलाई लक्षित गरी ललितपुर महानगरपालिका वडा नं. १५ ले सामुहिक मेस सञ्चालनमा ल्याएको छ । दैनिकी गुर्जान समस्या परेका विपन्न परिवारलाई लक्षित गर्दै वडा भित्रका व्यक्तिहरुको लागि वैशाख १५ गतेदेखि मेस कार्यक्रम सुरु गरिएको हो ।
लकडाउनको समयमा अत्ति विपन्न, असहाय र दैनिक ज्यालादारी गर्न नपाएकाहरुका लागि खाना उपलब्ध गराउन सुरु गरिएको वडाध्यले जनाएको छ । वडाध्यक्ष सुदर्शन मिश्रले लकडाउन अवधिभर यसलाई निरन्तरता दिने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमण रोक्न लकडाउन जारी छ, सबै घर जान पाएका छैनन्,छाक टार्न कठिन भएकाहरुको लागि यस्तो प्रबन्ध गरिएको हो ।’ दिनहुँ करिब ३ सय ५० जनाले खाना आएको मिश्रको भनाई छ । महानगरले सबै वडाहरुमा मेस कार्यक्रमका लागि एक लाखका दरले बजेट छुट्याएको थियो ।१५ वडाका दुई ठाउँमा अहिले सामूहिक भोजन खुवाउने कार्यक्रम हुँदै आएको छ । सातदोबाटो स्थित महेन्द्र आदर्श विद्यालय र शान्तिनगरस्थित वन्डरलाण्ड किन्टरगार्डेल स्कूलमा मेस सञ्चालन भैरहेको छ ।
वडाको कार्यलाई सातदोबाटो युथ क्लब र आमा समूहहरुले पनि सहयोग गरेको छ । वडाले आफ्नो वडाभित्रका विपन्न वर्गलाई खाना खुवाउने मेस संचालन गरिने भएपछि यस क्षेत्रका विपन्नहरुले खुशी महसुस गरेका थिए ।
मेस अहिले वडा नं १५ मा मात्रै नभइ ३ र १७वडामा पनि सुरु भएको छ । अन्य वडाहरुमा आवश्यक सामान पु¥याइसकेको महानगरपालिकाले जनाएको छ । आवश्यक तयारी जतिसक्दो छिटो पुरा गरेर मेस संचालन गरिने महानगरले उल्लेख गरेको छ ।सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट जोगिन लम्बाएको लकडाउनका कारण गरीब र श्रमिक वर्गलाई हात मुख जोर्न समस्या नहोस् भनेर मेस संचालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।
मेस संचालन कुन ठाउँमा गर्ने वडा कार्यालयले नै निर्णय गर्ने महानगरपालिकाले जनाएको छ । ‘खुल्ला र सफा स्थानमा सामाजिक दुरी कायम गरेर मेस संचालन गर्न हामीले भनेका छौं ’ महानगर प्रमुख महर्जनले भने । उनका अनुसार मेसमा दिनको दुई पटक खाना खुवाइनेछ ।
यसअघि ललितपुर महानगरले नेपाल सरकारले गरेको राहत वितरणको निर्देशनलाई आधार मानेर महानगरपालिकाको स्रोतले भ्याउने गरी राहत वितरण गरेको थियो ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ संक्रमण फैलन नदिन गतचैत ११ गतेदेख लकडाउन घोषणा गरेको थियो । यो लकडाउन वैशाख २५ गतेसम्म जारी रहनेछ ।
मुलुक लकडाउन हुँदा कलकारखाना, उद्योग, निर्माण क्षेत्र रोकिदा देनिक ज्याला मजदुरी गरी खाने मजदुर, एकल महिला, असाहय, विपन्न वर्गहरु भोकमरीमा नपरुन भनेर संघीय सरकारले लगत संकलन गरि आवश्यक खाद्य सामग्री वितरण गर्न स्थानीय सरकारलाई कार्यविधिसहित निर्देशत गरेको छ । निर्देशन पश्चात सबै स्थानीय तहहरु वास्तविक खाद्यान्न अभाव हुने वा भएका परिवार पहिचान गर्न सार्वजनिक सुचना जारी गरेर पहिचान गर्ने कार्य गरिरहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया