ड्युटीमा बसेका प्रहरीलाई लकडाउन उल्लङ्घन गर्ने व्यक्तिले थुके, प्रहरीमा कोरोना परीक्षण

बेलायत – ड्युटीमा बसेका प्रहरीलाई लकडाउन उल्लङ्घन गर्ने व्यक्तिले थुकेपछि उनमा कोरोना परीक्षण गरिएको छ । घटना बेलायतको हो । लकडाउन उल्लङ्घन गर्ने एक पुरुषले आफूलाई गिरफ्तार गरेको झोंकमा अहोरात्र जनताको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि यस्तो घिनलाग्दो हर्कत गरेका थिए ।

डानियल ह्यागर्टी नामक ३२ वर्षीय पुरुषले नटिंघम्सायरका प्रहरी अधिकारी एन्थोनी ब्रिस र उनका सहकर्मीमाथि दुर्व्यवहार गर्दै थुकेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारसंस्थाले जनाएअनुसार लकडाउन उल्लङ्घन गरेका कारण डानियल ह्यागर्टी लाई गिरफ्तार गरी हिरासतमा लगिँदै थियो।

प्रहरी अधिकारीले मिडियासँगको प्रतिक्रियामा भनेका छन् अचानक हामीमाथि थुक वर्षदाँ रीस उठ्यो। छक्क पर्‍यौं, तत्काल आँखामा स्‍यानिटाइजर लगाएँ। बरु मेरो अनुहारमा मुक्का हानेको भए सहन सजिलो हुन्थ्यो। बिसिीले लेखेको छ, उनका अनुसार ती पुरुषले रक्सी पिएका थिए।

दोषी डानियललाई ६ महिनाको जेल सजाय हुने भएको छ। उनले थुकेपछि दुवै प्रहरी अधिकारीको कोरोना भाइरस संक्रमण परीक्षण गरिएको थियो। उनीहरुको परीक्षणमा नतिजा भने नेगेटिभ आएको छ।
कोरोना भाइरस कोभिड १९ को कारण विश्वका हरेकजसो देशले लकडाउनको नीति अपनाएका छन् । कोरोना महामारी सजिलै एकबाट दोस्रोमा सर्ने भएको र हालसम्म यसविरुद्धको भ्याक्सिन बनिनसकेको कारण लकडाउन नै सबैभनदा अचुक सावधानी भएको भन्दै यो नीति अपनाइएको हो । तर कतिपय हठी स्वभावका मानिसहरु यसरी आफ्नोलागि बनाइएको नीतिको धज्जी समेत उठाउँदै सडकमा निस्केर अमानविय हर्कत गरिरहेका समाचार बेलाबखत बाहिरीरहन्छन् ।

यसअघि पनि ३० वर्षिय एक महिला जसले पुलिस अधिकारीको मुखमा थुकिदिएकी थिइन् ।  उनले पुलिस अधिकारीलाई लात हानेर थुकेको कारण आठ महिनासम्म लीड्स मजिस्ट्रेटको अदालतले जेल सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?