ओली नेतृत्वको नेकपा सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायो !

काठमाडौं । कांग्रेसले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागि परेको ठहर गरेको छ ।

मुलुक कोभिड १९ को गम्भीर जोखिममा रहेका बेला मेडिकल सामाग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय भएको बुधबारको काँग्रेस केन्द्रीय समिति बैठकले ठहर गरेको छ ।

‘ पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु, त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरी सम्म दर्ता गर्न इन्कार गर्नु, सरकारको वदनियत पुष्टि गर्ने घटना हुन्’, काँग्रेसले भनेको छ, ‘सामाजिक सन्जालमा सरकार वा सरकारी पदाधिकारीको आलोचना गरेका आधारमा मानिसलाई पक्राउ गर्ने, मुद्दा चलाउने, संचार माध्यममा बोलेको, अन्तरवार्ता लिएको कारणले स्पष्टीकरण सोध्ने, कारवाही चलाउने जस्ता घटनाले वर्तमान सरकार संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता लगायत मौलिक हक अधिकारको खिल्ली उडाउँदै निरंकुशता तर्फ अग्रसर भएको प्रष्ट छ ।’
सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावना विरोधी कार्य गर्ने अवसरका रुपमा प्रयोग गरिरहेको छ । सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचन मार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ । तसर्थ नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ’, काँग्रेसले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?