अज्ञात रोगले मरे १७ बंगुर

काठमाडौं । अज्ञात रोगको कारण रुकुम(पूर्व) मा एक किसानले पालेका १७ बंगुर आज मरेका छन् । भूमे गाउँपालिकामा वडा नम्बर २ का ढोटे पुनको शुभकामना बहुउद्देश्यीय कृषि फर्ममा पालिएका बंगुर मरेका हुन् ।

बंगुरलाई दाना खुवाएर पुन फर्मदेखि १५ मिनेट टाढा घर फर्किएलगत्तै मर्न थालेपछि स्थानीयवासीले उनलाई खबर गरेका थिए । बिहान १० देखि ११ बजेको बीच ती पशु मरेको उनले बताए । मुखबाट फीँज आएको केही समयमै बंगुर मरेको पुनको भनाइ छ ।

त्यसबाट एक लाख ३० हजार बराबरको क्षति भएको फर्मका संचालन पुनले बताए । फर्ममा रहेका बंगुर मर्न थालेपछि भूमे गाउँपालिकाबाट पशु शाखाको टोली फर्ममा पुगेको थियो । उक्त टोलीले अन्य सात बंगुरलाई भने सुई लगाएर बचाउन सफल भएको छ ।

बंगुर फुड प्वाइजनको समस्या भएर मरेको हुन सक्ने पशुशाखा प्राविधिक भूपेन्द्र शाहीले बताए । मरेका ती बंगुर गाडिएको छ । पुनले ६ महिनाअघि दाङबाट तीन महिनाका बंगुरका पाठा लिएर पाल्न शुरु गरेका थिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?