जुम्लामा शुरु भयो कोरोनाको विशेष बीमा कार्यक्रम

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिए ।

व्यक्तिले आफ्नो र परिवारका सदस्यको बीमा गर्न सक्ने छन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क तिर्नुपर्ने छ । उनले भने, “बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ।” यसमा कुनै सङ्घसंस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

रु एक लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले रु एक हजार र प्रतिसदस्य थपिँदै गएपछि प्रतिसदस्य रु ६०० लाग्नेछ । रु ५० हजारको बीमा गरेमा रु ५०० बीमाङ्क शुल्क लाग्नेछ भने अरु सदस्य (घरपरिवार) थपिएपछि प्रतिव्यक्ति रु ३०० थप रकम लाग्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

संस्थागत रुपमा समूहगत कर्मचारीको बीमा गरेमा पनि रु एक लाख रकम बीमाको एकजना कर्मचारीको रु एक हजार बीमा शुल्क तिर्नुपर्ने छ भने अन्य कर्मचारी थपिँदै गएपछि प्रतिकर्मचारी रु ६०० बीमा शुल्क लाग्ने प्रावधान रहेको छ । रु ५० हजारको बीमा गरेमा एक कर्मचारी रु पाँच र कर्मचारी थप भएपछि प्रतिव्यक्ति रु ३०० का दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ । एउटा घरपरिवार वा सङ्घसंस्थाले ६ जनाभन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ ।

कोरोना रोग बीमा गर्ने व्यक्ति तथा सङ्घसंस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फाराम भरेर बीमा कम्पनीलाई बुझाउनु पर्नेछ । भरेका फाराम बीमा कम्पनीको कार्यालय बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउने व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाका लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।

अलपत्र परेका नागरिकलाई राहत

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण आफ्नो गृह जिल्लामा पुग्न नसकेर अलपत्र परेका नागरिकलाई जुम्लाका युवा स्वयं सेवक समूहले राहत प्रदान गरेको छ ।

नुवाकोट जिल्ला विदुर नगरपालिका—१ त्रिशुलीका रविन तामाङ र सुरेन्द्र तामाङलाई २५ किलो चामल, २ किलो दाल, २ पाकेट तेल र रु एक सयको रिर्चाज कार्ड राहत स्वरुप प्रदान गरेको समूहका बालकृष्ण बुढाले बताए । त्यसैगरी समूहले भरतपुर महानगरपालिका–२७ चितवनका जयबहादुर कुमाल र भिष्म महतालाई तातोपानी गाउँपालिका—२ की सत्यदेवी डाँगीले आश्रय दिदै आएका छन् । उनीहरुलाई पनि २५ किलो चामल, दुई किलो दाल, दुई प्याकेट तेल र रु एक सय रिर्चाज कार्ड उपलव्ध गराएको उनले बताए ।

वडामा निगरानी केन्द्र
पातारासी गाउँपालिका जुम्लाले पोखरा, काठमाडौँ, बुटवल, नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका नागरिकलाई उद्धार गरेर ल्याउन थालेपछि हरेक वडामा निगरानी केन्द्र निर्माण गरेका छन् ।

लकडाउनका कारण नेपालका विभिन्न जिल्लामा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने निर्णय भएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले जानकारी दिए । अलपत्र परेका नागरिकलाई काठमाडौँ, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट गाडीमा ल्याउनका लागि सूचना प्रकाशित भइसकेको छ ।

अलपत्र परेका नागरिकले गाउँपालिकाले तोकेको सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न आग्रह गरिएको पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिका सदस्य सचिव रतन बुढथापाले बताए । गाउँपालिकाले आफ्नो खर्चमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न लागेको बताउँदै उनले पातारासी गाउँपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकबाट प्रत्येक वडामा निगरानी केन्द्र निर्माण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?