काठमाडौंमा बिहान १० बजेसम्म पसल खोल्न दिन आग्रह

काठमाडौं । महानगर क्षेत्रभित्र खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्तिका कारण जनसाधारणको दैनिकीमा प्रतिकुल हुन नदिन बिहीबार महानगरपालिकाले सरोकारवालहरुसँग छलफल गरेको हो ।

महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अगुवाइमा भएको छलफलमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी नायव महानिरीक्षक विश्वराज पाखरेल, महानगरका सहसचिव राजेश्वर ज्ञवाली, ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालसहित व्यापारिक संघ संगठनका प्रतिनिधिहरु सहभागी थिए । त्यस्तै चण्डी दल गणका प्रमुख सेनानी महेन्द्रकुमार पुन, काठमाडौं परिसरका निमित्त प्रमुख सोमेन्द्रसिंह राठौर, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक बिश्वेश्वर थापा, राष्ट्रिय अनुसन्धानबाट उप अनुसन्धान निर्देशक उत्तम खनाल, महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडा ३, ११, १६ र २६ का अध्यक्षहरु सहभागी थिए ।

बैठकको अध्यक्षता गरेका महानगरका प्रमुख शाक्यले महानगर क्षेत्र भित्र बजार सञ्चालनको समय एउटै हुन आवश्यक रहेकोले आपसी समन्वयका लागि बैठक आयोजना गरिएको बताए । अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असहाय र मजदुरलाई मात्रै राहतको व्यवस्था गर्ने होइन पैसा हुनेका लागि सामान किन्न बजारको पहुँच बनाउन जरुरी छ । त्यस्तै भविष्यमा काठमाडौंको आर्थिक क्षेत्रमा हुन सक्ने जोखिमको पूर्वअनुमान गरेर, जोखिम घटाउने उपाय गर्नुपर्छ ।

छलफलका क्रममा प्रमुख शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट मात्रै ६२ हजार ७ सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको जानकारी दिए । ‘काठमाडौं महानगरबाट मात्रै यति धेरैलाई राहत वितरण गर्ने र खाना खुवाउने काम भएको छ,’ उनले भने, ‘यति हुँदा पनि खाने कुराको समस्या भएर गाउँ फर्किन बाध्य भएको भन्ने समाचारहरु आइरहेका छन् । खानाकै समस्या भएर गाउँ फर्किनु पर्ने अवस्था आउन दिदैँनौ भनेर हामीले पटक–पटक भन्दै आएका छौँ । खान नपाउने जोसुकैलाई पनि हामी खाना खुवाउँछौं । भोकले मर्न दिँदैनौं ।
प्रमुख शाक्यले अहिलेसम्म काठमाडौं महानगरपालिका क्षेत्र भित्रका ८ सय ५६ जनाको र्‍यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेसम्मको अवस्थामा काठमाडौँ सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न समेत आग्रह पनि गरे ।

बैठकमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले संक्रमणबाट सुरक्षित स्थानमा रहेका उत्पादन क्षेत्रमा काम गर्न सहजीकरण गरिएको बताए । सरकारको निर्णयलाई वाधा नपुग्ने गरी आर्थिक क्षेत्रको व्यवस्थापनका लागि हामीले सहजीकरण गरेका छौं, उनको भनाइ थियो । छलफलमा उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले उत्पादित बस्तुहरु बजारमा ल्याउन नसक्दा मूल्यवृद्धि हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

श्रम बजारमा भएका गाउँ फर्किने जनशक्तिलाई रोक्ने उपायका बारेमा आजै सोचेनौ भने भोलि उद्योग चलाउन र उत्पादित सामान बजारमा पुर्‍याउन कठिन हुन्छ, मोरको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग सञ्चालन, उत्पादित सामानको ढुवानी र बजार व्यवस्थापनको चक्र बिग्रिन दिनु हुँदैन । महानगरपालिकाले गाउँ फर्कने सबैलाई काठमाढौंमा बस्न पटक-पटक अपिल गर्नुपर्छ । श्रेष्ठको जोड थियो ।

दैनिक उपभोग्य बस्तु भण्ढामा सञ्चय छ तर खुद्रा बिक्री गर्ने व्यापारीकोमा पुर्‍याउन सकिएन भने यसले एकातिर सामान अभाव हुन्छ भने अर्कोतिर प्रयोग योग्य समयावधि सकिन्छ । छलफलमा धारणा राख्दै नेपाल खुद्रा व्यापारी संघका निवर्तमान अध्यक्ष पबित्र बज्राचार्यले, दोहोरो जोखिम घटाउन खुद्रा व्यापारीलाई व्यापार गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । त्यस क्रममा उद्योग बाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठसहितका प्रतिनिधिले, व्यापारी र प्रशासनबीचको समधुर सम्बन्ध स्थापित गराउन नीति अबलम्बन गर्न, स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्दै व्यापार प्रबर्धनका कामलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

व्यापारिक क्षेत्रबाट आएका मुख्य मुद्दाहरुमा, जनशक्ति पलायन हुन सक्ने खतरा सोचौं, उत्पादित सामानलाई बजारमा पुर्‍याउन ढुवानीको प्रबन्ध मिलाऔं । व्यापारीलाई हतोत्साह गर्नभन्दा बजारलाई नियमित गर्न र गुणस्तरीय बजार व्यवस्थापनका लागि अनुगमन गरौंं । लकडाउनलाई केही खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई विस्तारै चलायमान बनाउँदै लैजाऔं लगायतका बिषयमा केन्द्रीत थियो ।
त्यस्तै बजारलाई सहज र चलायमान बनाउन लकडाउन अवधिभरि बिहान १० बजेसम्म पसल खोल्ने वातावरण तयार गरौं ।

महानगरका वडाहरुले स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा अहिले बिहान ९ बजेसम्म पसल सञ्चालन गर्ने प्रबन्ध मिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?