चित्रकला कार्यशालामा स्लोभानियाका चित्रकार

त्रिशूली (नुवाकोट), २५ माघ – चित्रकलामार्फत नुवाकोटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले सञ्चालित चारदिने चित्रकला कार्यशाला सम्पन्न भएको छ । बसिबियाँलो संस्थाको आयोजनामा नेपाल र स्लोभानियाका कालाकार सहभागी अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा चित्र विदुर नपा–४, बट्टारमा प्रदर्शनी गरी समापन गरिएको हो । ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई कलाका माध्यमबाट विश्वमा फैलाउनका लागि यहाँ पहिलो पटक कार्यशालासहितको चित्रकला प्रदर्शनी गरिएको आयोजिक बसिबियाँलोका हरिकृष्ण श्रेष्ठले बताउनुभयो । युरोपको सानो देश स्लोभानियामा चित्रकारिता गर्दै आएका विदुर–५ देवीघाटका वीरमान श्रेष्ठको नेतृत्वमा चार विदेशी कलाकार र १२ स्वदेशी कलाकार सहभागी कार्यशालामा ४३ चित्र सिर्जना भएको थियो । प्रदर्शनीमा सर्वसाधारण र विद्यालयका विद्यार्थीको भीड लागेको थियो । विदेशी कलाकारले नुवाकोटका विभन्नि स्थान र संस्कृतिको अवलोकन गरी क्यानभासमा चित्र उतारेका थिए । कार्यशालामा स्लोभेनियाका जोजिका जोर्को, काजा लुकाक र बोजका लुकाक तथा नेपालका वीरमान श्रेष्ठ, एनबी गुरुङ, राजेश मानन्धर, लालकाजी लामा, केशवराज खनाल, भीम श्रेष्ठ, जनकैलाश श्रेष्ठ र स्थानीय चित्रकार शशि डंगोल, शैलेश शाही, र धर्म तिमिल्सेनालगायतको सहभागिता थियो । विदेशी कलाकारसँग बसेर सिर्जना गर्न पाउनुले नेपाल र स्लोभानियाको चित्रकलाको माध्यमबाट सम्बन्ध बलियो भएको कलाकार डंगोलले बताउनुभयो । पटक पटक नुवाकोटको प्राकृतिक दृश्यलाई चित्रमा उतार्न आइसक्नुभएका पत्रकार तथा कलाकार खनालले कार्यशालाले नेपालको सिर्जनालाई स्लोभानियासम्म पु¥याएको बताउनुभयो । प्रदर्शनीमा राखिएका चित्र आगामी फागुन १६ देखि २६ गतेसम्म हुने पाँचाँैं नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । नेपाली कलाकारले सिर्जना गरेका आठ चित्रलाई स्लोभानियामा पनि प्रदर्शनी गरिने स्लोभानियामा बस्दै आउनुभएका कलाकार श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?