काठमाडौं, २५ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच गत असोजमा पार्टी चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्नेगरी भएको सहमति माओवादी केन्द्रका लागि भने प्रतित्पादक बन्दै गएको छ एमालेसँगको एकता प्रयाससँगै सो पार्टीका केही वरिष्ठ नेताले एमालेसँग एकतामा नजाने भन्दै फरक पार्टी विर्माणको अभियानमा जुटेका छन् । एकता प्रयासअघि बढेसँगै नारायणकाजी समूहबाट आएका नेता विश्वभक्त दुलाल आहुतीले पार्टी परित्याग गरी नयाँ ढंगले कम्युनिस्ट आन्दोलन अघि बढाउने घोषणा गरिसकेका छन् उनलाई माओवादी आन्दोलनमा लामो त्याग गरेका युवा पुस्ताका केही नेताले समेत साथ दिएका छन् । युवा नेता तथा साहित्यकार बलराम तिमल्सिना, जागृत रायामाझीसहितको साथ उनलाई देखिएको छ यस्तै जनयुद्धकै समयमा किरात जनवादी वर्कर्स पार्टीबाट एकतामा आएका अर्का प्रभावशाली नेता गोपाल किराती पनि माओवादी केन्द्र र एमालेबीच एकता भएमा माओवादी केन्द्रलाई नै पुनर्गठन गर्ने भन्दै आठौं महाधिवेशन समूह गठन गरेका छन् यस्तै माओवादी केन्द्रकै अर्का नेता तथा साहित्यकार विष्णु भण्डारीले माओवादी केन्द्र परित्याग गरी समाजवादी लेखक संघ गठन गरेका छन् यस्तै देशभर नै माओवादी केन्द्र र एमालेबीचको एकताको विषयलाई लिएर दुई धार देखिएको छ । कतिपयले जनताले वाम गठबन्धनलाई अनुमोदन गरिसकेकाले एकतामा जानुको विकल्प नभएको बताएका छन् भने कतिपयले भने यो एकतालाई भित्रैदेखि रुचाएका छैनन् यसरी पार्टी एकताकै विषयलाई लिएर सबैभन्दा बढी भाँडभैलो भने प्रदेश १ मा देखिएको छ । प्रदेश १ का २९ जना केन्द्रीय नेताहरुले पार्टी एकताको विरुद्धमा रहेको भन्दै गोपाल किरातीको नेतृत्वमा बैठकमा नबस्ने भन्दै प्रचण्डलाई पत्र पठाएका छन् त्यसको जवाफमा किरातीले आज र भोलिका लागि बोलाएको १ नम्बर प्रदेशको सचिवालयको बैठक स्थगित गरिदिएका छन् । यो सँगै सो पार्टीले प्रदेश संसदीय दलको नेता, उपसभामुख लगायतको पदमा पठाउनेको नाम टुंगो लगाउन समेत नसक्ने अवस्थाको सिर्जना भएको छ दुई दिनअघि सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य टंक आङबुहाङसहित १९ नेताले किरातीलाई कारबाही गर्न लिखित रुपमा नै माग गरेका थिए । उनीहरुले किरातीले बोलाएको बैठकमा सहभागी नहुने भन्दै माघ २५ र २६ का लागि बोलाएको बैठकको अध्यक्षता गरिदिन प्रचण्डलाई आग्रह नै गरेका थिए किरातीले बैठक नै स्थगित गरिदिएपछि त्यहाँको विवाद नयाँ मोडमा आइपुगेको छ । प्रदेश १ मा सभामुखका लागि माघ २९ गते निर्वाचन हुँदैछ यस्तो अवस्थामा किराती विरुद्ध उभिएका २९ नेताले सचिवालयको बैठक नबसी कुनै निर्णय नलिन माग गरेका छन् । तत्काल बैठक बोलाएर पार्टी सञ्चालनको विधि, पार्टीभित्र देखिएका अराजकतावाद र चरम अवसरवाद एवं समग्र विषयमाथि गम्भीर समीक्षा गर्न उनीहरुले माग गरेका छन् प्रदेश १ मा देखिएको विवाद बाहिर एमालेसँगको एकताको विषय र भित्र प्रचण्ड र रामबहादुर थापा तथा गोपाल किराती समूहको टक्करको रुपमा आएको छ । प्रचण्ड पक्ष किरातीलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएपनि बादल समूह नरम लेखिएको छ प्रदेश सभामा १६ सांसद रहेको माओवादी केन्द्रमा संसदीय दलको नेता को बनाउने भन्ने विषयमा पनि दुई समूहबीच विवाद छ । प्रचण्ड पक्षले टंक आङबुहाङलाई दलको नेता बनाउन चाहेपनि बादल–किराती समूहले इन्द्र आङ्बोलाई नेताका रुपमा अघि सारेको बताइन्छ उनी क्रान्तिकारी माओवादीबाट बादल समूहसँगै माओवादी केन्द्रमा गएका नेता हुन् । बादल समूहसँगै गएका अर्का नेता सावित्रिकुमार काफ्ले पनि यो विवादमा मुछिएका छन् प्रदेश १ को संयोजक रहेका काफ्लेले आफ्नी पत्नी बिना पोखरेललाई राष्ट्रिय सभा सदस्य बनाएपछि विवादमा आएका हुन् । सहिद परिवारको नाम हटाएर आफ्नी पत्नीलाई राष्ट्रिय सभाको सांसद बनाएको भन्दै उनको आलोचना भइरहेको छ । तर पोखरेल जनयुद्धको समयमा क्रियाशील रहेकी नेतृ हुन् । शान्ति प्रक्रियासँगै उनी राजनीतिमा निष्कृय थिइन् काफ्लेले एमाले र माओवादीबीच एकता भएको समयमा पार्टी पुर्नगठनमा किरातीलाई साथ दिने बचन दिएर आफ्नी पत्नीलाई राष्ट्रिय सभाको सांसद बनाएको प्रचण्ड पक्षको आरोप छ गत बिहीबार नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणपछि दुई पार्टीबीच एकता झनै टाढिएको बताइन्छ । अध्यक्ष र प्रधानमन्त्री दुवै एमालेले नै लिएर पार्टी एकता गर्न खोजेको भन्दै माओवादी केन्द्रका केही केन्द्रीय नेताले नै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्न थालेका छन् प्रचण्डले पनि अब एकताको विषयमा ओलीसँग निर्णायक वार्ता गर्ने तयारी गरेका समाचार बाहिर आएकाले अब दुई पार्टीबीच एकताका विषयमा मतान्तर देखिएको अट्कलबाजी गरिएको छ एमालेसँग एकताको प्रयाससँगै पार्टीको ठूलो हिस्सा असन्तुष्ट भएपछि सबैभन्दा बढी घाटा माओवादी केन्द्रलाई नै लाग्ने देखिएको छ । यसलाई केही राजनीतिक विश्लेशकले भुईको टिप्न खोज्दा गोजीको समेत खसेको टिप्पणी गर्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया