राष्ट्रियसभा निर्वाचनको सबै सिटको मतपरिणाम घोषणा

काठमाडौं– बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणना सकिएको  छ ।  नतिजा अनुसार बाम गठबन्धन बलियो  देखिएको छ । प्रदेश नं १ को दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भए । । यस्तै अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए । बान्तवा छ हजार १३८ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गरेको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए । यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा (माओवादी केन्द्र) को एकजना निर्वाचित भएका छन् । यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी छन् । त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं छन् । प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरियो । प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी प्रदेश नं ३ मा आठ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए । उनका अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका छन् । त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा बादल विजयी भएका छन् । काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भए । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिस्पर्धामा थिए । प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सम्पन्न मतगणनाअनुसार ४ नम्बर प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । त्यस्तै दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित भएका छन् भने अन्य समूहका तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी भएका छन् । अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । आजको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए । प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम पनि घोषणा गरिएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार विजयी भएका छन् । चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ । त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा (माओवादी केन्द्र)का राजकुमार कुँवर विजयी भएका छन् । उनको मतभार पाँच हजार ३४० रहेको छ भने उनका प्रतिद्वन्द्वी काँग्रसका लुटबहादुर खत्रीको मतभार दुई हजार ५२० रहेको छ । त्यसैगरी, खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए । तीनै उम्मेदवारले ल्याउनुपर्ने भन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो । तीन महिला भने यसअघि नै र्निविरोध निर्वाचित भइसकेका छन् । प्रदेश नं ५ मा ३०५ मतदाता रहेकामा ३०३ मत खसेको थियो । मतदानमा दुई जना अनुपस्थित रहे । रुपन्देहीबाट राष्ट्रिय जनता पार्टी नेपालबाट समानुपातिक सांसद बनेकी बीना पन्त र बाँकेबाट सङ्घीय समाजवादी फोरमबाट नरैना गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह अनुपस्थित रहे । प्रदेश नं ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् । ३ सिटको नतिजा आउने क्रममा रहेको छ । मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसकेका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बुढाले तीन हजार ७२० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए । बुढाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालप्रसाद शर्माले ९७८ मत प्राप्त गरेका थिए । त्यस्तै, लुहारले तीन हजार ६६६ मत आएका थिए भने उनका प्रतिद्वन्द्वी काँग्रेसका मित्रलाल सार्कीले ९६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । एक हजार १६२ मतभार कोटा निर्धारण गरिएकामा वाम गठबन्धनका महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्माले निर्धारण गरेको मतभार कोटा क्रस गरेकाले विजय भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी हुन् भने युटुल माओवादी केन्द्रकी हुन् । ७ नं प्रदेशमा भएको निर्वाचनमा नेकपा (एमाले)का चक्रप्रशाद स्नेही र नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत जयानन्द पनेरुले दलित समूहका तर्फबाट विजयी एमालेका स्नेहीले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत प्राप्त गरी विजयी भएको जानकारी दिए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेरीराम पार्कीले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ १२ मत आए । यस्तै अल्पसंख्यक तथा अपाङ्गतर्फ माओवादी केन्द्रका महरा विजयी भए । उनले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत पाए । उनका प्रतिद्वन्द्वी काँग्रेसका छत्रराज जोशीले स्थानीयतर्फ ७४ र प्रदेश सभा तर्फका १२ मत पाए । निर्वाचनमा स्थानीयतर्फको एक मत बदर भएको निर्वाचन अधिकृत पनेरुले बताए । प्रत्येक प्रदेशबाट राष्ट्रियसभाका आठ सांसद हुनुपर्नेमा ७ नं प्रदेशवाट खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी र महिला सदस्यमा एमालेकी इन्दु कडरिया तथा कमलाकुमार ओली, काँग्रेसकी तारादेवी भट्ट यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?