लकडाउनमा वीरेन्द्रनगरमा हुनुहुन्छ ? राहतको लागि वडा कार्यालयमा जानुहोस् !

एलपी पौडेल / सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा बसोबास गर्ने जो कोहिलाई राहत दिन थालेको छ । लकडाउनका कारण आर्थिकोपार्जनमा समस्या परी खाद्यान्न किन्न समस्या पर्ने सबै नागरिकहरूलाई खाद्यान्न वितरण गरेको हो ।

यसभन्दा अघि पहिलो चरणमा नगरका स्थायी वासिन्दालाई मात्रै राहत दिएको नगरपालिकाले जनस्तरबाट व्यापक आलोचना भएपछि नगरमा बसोबास गर्ने सबैलाई राहत दिने भएको हो । उक्त राहता लागि केहि दिनअघि नगर कार्यपालिका बैठकले नगर गौरवका केही योजनाहरूबा ८० लाख रकम रकमान्तर गर्ने निर्णय गरेको थियो ।

दोस्रो चरणअन्तर्गत वीरेन्द्रनगरमा बस्दै आएका मजदुर, विद्यार्थी सबैले खाद्यान्न पाउने वडा नं १ का अध्यक्ष गंगाराम सुनारले बताए ।

उनका अनुसार वडा नं १ मा मात्रै पहिलो चरणमा २ हजार १ सय २३ जनालाई राहत वितरण गरिएको थियोे । पहिलो चरणमा घरमै लगेर राहत पुर्याएको बताउँदै उनले दोस्रो चरणमा राहत लिन वडा कार्यालयमा जानुपर्ने बताए ।

के के पाइन्छ राहत ?

नगरपालिकाले प्रतिव्यक्ति पाँच केजीको दरले चामल दिएको वडा अध्यक्ष सुनारले बताए । ६ जनाभन्दा बढि भएको परिवारले २ केजी दाल, एक पोका नुन, एक केजी चामल दिएको उनको भनाइ छ ।

कसरी पाउन सकिन्छ राहत ?

राहतको लागि स्थानीयबासिले टोल समितिका पदाधिकारीको सिफारिस र अन्य विद्यार्थी लगायत घर भाडामा बस्नेहरूले घरबेटीको सिफारिस लिएर वडा कार्यालयमा जानुपर्ने वडा अध्यक्ष सुनारले बताए । उनका अनुसार राहत लिन जाने सबैले अनिवार्य नागरिकताको प्रमाणपत्र साथमा लिएर जानुपर्ने बताए ।

वडा अध्यक्ष सुनारले राहत वितरणको लागि स्थानीय बजार व्यवस्थापन समिति, क्लबहरू लगायतलाई परिचालन गरिएको बताए । उनले वीरेन्द्रनगरमा कोही पनि भोको बस्न नपर्ने बताउँदै सबैले राहत पाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?