उपचारमा गल्ती गरे चिकित्सकले नै क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं, ३ असोज – सरकारले उपचारक्रममा गल्ती गर्ने चिकित्सकबाटै बिरामी वा पीडित पक्षलाई क्षतिपूर्ति भराउने कानुन ल्याउने निर्णय गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।उक्त निर्णयलाई लिएर चिकित्सकहरू विरोधमा उत्रिएका छन् ।मन्त्रिपरिषद्को बैठकले सोमबार उपचारक्रममा बिरामीलाई प्रतिअसर (साइड इफेक्ट) परेमा, अंगभंग वा मृत्यु भए त्यसको क्षतिपूर्ति पीडित पक्षलाई सम्बन्धित चिकित्सकले नै दिने प्रावधानसहितको छुट्टै कानुन ल्याउने निर्णय गरेको हो । त्यसका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।सरकारले यसअघि निर्माण गरेका कानुन, नेपाल मेडिकल काउन्सिलको चिकित्सक आचारसंहिता, उपभोक्ता हित संरक्षण ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुको सट्टा छुट्टै कानुन बनाउन निर्देशन दिनु उचित नभएको विज्ञहरूले बताएका छन् ।पूर्वस्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीले यस सम्बन्धमा छुट्टै ऐन ल्याउनुभन्दा पुराना कानुन कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?