भोको मान्छेले बर्जित काम गर्नसक्छ भन्दै कांग्रेस नेता केसीले सरकारलाई दिए गम्भिर सुझाव

काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लकडाउनको बाध्यताले सिर्जना गरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा ट्वीट गर्दै उनले लक डाउनको बाध्यताले निम्त्याएको असर र यसबाट सिर्जित भएका समस्या समाधानतर्फ गम्भिर हुन सरकारलाई सुझाएका हुन् ।

उनले लेखेका छन्, “खास गरेर श्रमिक निमुखा, विपन्न, किसान र तिनका परिवारलाई भोकबाट बचाउन विशेष कार्यक्रम आवश्यक छ। लक डाउन नै रामवाण सम्झिनु गम्भीर भूल हुनेछ। कोरोना सन्त्रासले सारा देश र संसार सुनसान र मसानशान्ति छाएको बेला हाम्रो ध्यान ती पचासौं लाख कामबाट बञ्चित श्रमिक र तिनका आश्रित परिवार तथा अबोध लालाबालामा जानु अनिवार्य छ।”

उनले सरकारलाई आफ्ना वाचा र प्रतिबद्धता सम्झन आग्रह गर्दै थपेका छन्, ” एकातिर १ करोड ५० लाख झण्डै ५० प्रतिशत जनता यो महामारीको सन्त्रास र लकडाउनको कारण हातमुख जोड्ने समस्याबाट अहिले नै व्याकुल भईसकेको आधिकारिक आँकलन छ । अर्कातिर प्रधानमन्त्रीजीले सार्वजनिक भाषणमै ‘अब देशमा कोही पनि भोकै पर्दैन, भोकले मर्दैनू भनेको वचनबद्धता पनि म यो घडीमा झल्झली सम्झिरहेको छु ।

प्रधानमन्त्रीको त्यो भनाई झुटो गफमात्रै होईन भने कोरोना महामारी जत्तिकै गम्भीर राष्ट्रिय मामिलाको रुपमा श्रमिक वर्गको यो समस्यालाई उच्च प्राथमिकतामा राखी भोका जनतालाई बचाएर महामारीको सामना गर्न सरकारले सक्नुपर्छ । वर्तमान संविधानको धारा ३६, उपधाराहरू १,२ र ३ ले जनतालाई मौलिक अधिकार दिएको छ। जनतालाई भोकबाट बचाउने जिम्मेवारी सरकारको अनिवार्य कर्तव्य हो, जुन कर्तव्य सरकारको निगाह वा सहुलियत वा एच्छिककार्य मात्र होइन। सत्ताधारीलाई मत, समाजलाई श्रम र राज्यलाई कर तिरेका जनतालाई जीवन मरणको संकट आईलाग्दा पनि सरकार कर्तव्यविमुख, उदासीन र अनुत्तरदायी भयो भने भोको पेटले गर्ने विद्रोह निकै भयावह हुने यथार्थबारे बेलैमा हेक्का राख्नु बेस हुन्छ । यो मार्गदर्शक नीतिसूक्तलाई मनन गरौं :

“त्यजेत् क्षुधार्ताःजननी स्वपुत्रं।

खादेत् क्षुधार्ताःभुजगी स्वमण्डम् ।।

वुभुक्षितःकिं न करोति पापं ।

क्षीणा जनाःनिष्करुणा भवन्ति।।

अर्थात्- भोकले छटपटाएकी एक आमां (आफ्नो प्राण बचाउनकै लागि )  आफ्नो छोरोलाई समेत त्यागिदिन्छिन् । एक भोको साप आफ्नै अण्डा खान थाल्छ । त्यसैप्रकार भोको मान्छेले जस्तोसुकै पाप (बर्जित काम) पनि गर्न सक्छ भने जतिसुकै कमजोर व्यक्ति पनि यस्तो परिस्थितिमा निर्दयी हुनपुग्छ । तसर्थ यसमा ढिलो नगर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?